‘कश्मीर फाइल्स’को उत्साहजनक व्यापार, नेपालमा पनि रिलिज गर्ने तयारी

 विवेक अग्निहोत्री निर्देशित बलिउड फिल्म ‘द कश्मीर फाइल्स’ले भारतीय बक्स अफिसमा उत्साहजनक सुरुवात गरेको छ । सन् १९९० मा कश्मिरी पण्डितविरुद्ध चलाइएको सफायाको कथा पेश गर्ने फिल्मले तीन दिनमै २७.१५ करोड भारु नेट कमाइ गरेको छ ।

पहिलो दिन शुक्रबार ३.५५ करोड, शनिबार ८.५० करोड र आइतबार १५.१० करोड भारु यो फिल्मले कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उत्कृष्ट समीक्षा र वर्ड अफ माउथका कारण फिल्मले कमाइमा पिकअप लिएको छ ।

कोरोना महामारीको समयमा ‘कश्मीर फाइल्स’को यो कमाइ चमत्कारपूर्ण भएको कोइमोइ डटकमले उल्लेख गरेको छ । कतिपय समीक्षकले यो फिल्मलाई डार्क हर्सको रुपमा ब्याख्या गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत फिल्मको प्रशंसा गर्दै भाजपा प्रशासित राज्यमा करलाई निःशुल्क तुल्याउन पहल गर्ने बताएका छन् । अदालतको आदेशका बाबजुद जम्मा ७०० पर्दामा मात्र रिलिज भएको यो फिल्मले क्रमशः पर्दा संख्यामा समेत वृद्धि गरेको छ ।

फिल्मले बहुसंख्यक हिन्दू दर्शकको भावनात्मक समर्थन समेत पाएको जनाइएको छ । सत्तारुढ भाजपा निकट नेताहरुले समेत फिल्मको प्रशंसा गरेका छन् । बीजेपीले सुरुदेखि नै कश्मिरी पण्डितहरुको पक्षमा आवाज उठाउँदै आएको थियो ।

यसैबीच, भारतको गुजरात राज्यमा ‘द कश्मीर फाइल्स’लाई पूर्णरुपमा कर छुटको घोषणा गरिएको छ । गुजरात भारतीय प्रधानमन्त्री मोदीको गृहराज्य हो ।

भारतमा फिल्मले चर्चा बटुलेपछि नेपालमा पनि यो फिल्म रिलिजको तयारी सुरु भएको छ । वितरक मनोज राठीले भारतमा गरेको कमाइ र समीक्षाको ट्रेण्डलाई हेरेर नेपालमा फिल्म रिलिज गर्न गृहकार्य सुरु भएको बताए । ‘सम्भवतः शुक्रबार नेपालमा रिलिज हुनेछ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *