07
Feb
भारत र चीनबीचको वास्तविक नियन्त्रण रेखामा आएको हिमपहिरोमा परी सातजना भारतीय सैनिक पुरिएको खबर आएको छ । उक्त घटना अरुणाचल प्रदेशको कामेङ सेक्टरमा १४ हजार ५०० फीटको उचाइमा आइतवार भएको भारतीय सेनाले जनाएको छ । ‘खोजी र उद्धार कार्य जारी छ । विशेष टोलीहरूलाई उद्धारका लागि घटनास्थल लगिएको छ,’ भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल हर्षवर्धन पाण्डेले बताए । विगत केही दिनयता उक्त क्षेत्रको मौसम खराब छ र भारी हिमपात भएको छ । भारतीय सेनाको पूर्वी र उत्तरी कमान्डमा निकै उचाइमा ३५ हजारभन्दा बढी सैनिकहरू तैनाथ रहेको अनुमान छ । सन् २०१७ देखि यता १०० भन्दा बढी भारतीय सुरक्षाकर्मीहरू हिमपहिरोमा मारिएका छन् ।