तृणमूलमा स्वप्नाले चिन्तित भाजपा खेमा

तृणमूल कङ्ग्रेसमा प्रवेश गरेको 24 घण्टाभित्रै स्वप्ना बर्मन डाबग्राम–फूलबारीमा पुगेपछि भाजपामाथि दबाउ बढ़ेको छ। चुनाउको माहोल बने पनि कुनै पनि दलले अहिलेसम्म उम्मेदवार घोषणा गरेको छैन। शुक्रवार कोलकाताबाट फर्किने बित्तिकै स्वप्ना बर्मनलाई एनजेपी स्टेशनबाट सिधै डाबग्राम–फूलबारी ब्लक तृणमूल पार्टी कार्यालयमा लगेर सम्मान गर्दै दलका नेता–कार्यकर्तासित परिचय गराइएको थियो। यसले तृणमूलले डाबग्राम–फूलबारीमा स्वप्नालाई उम्मेदवार बनाउन सक्ने राजनीतिक विश्लेषकहरूको एक हिस्सासितै भाजपाभित्र पनि यस्तो धारणा बनेको छ। यस्तो सम्भावित समीकरणले भाजपा खेमामा चिन्ता बढ़ाएको छ। डाबग्राम–फूलबारी विधानसभा क्षेत्रमा राजवंशी मतदाताको सङ्ख्या धेरै छ। यहाँ विभिन्न दलहरूले पटक–पटक राजवंशी अनुहारलाई उम्मेदवार बनाउने माग उठाउँदै आइरहेका छन्। यदि तृणमूलबाट स्वप्ना बर्मन उम्मेदवार बनेमा राजवंशी मत तिनको पक्षमा जान सक्ने अनुमान भाजपाले गरेको छ। त्यस अवस्थामा आफ्नो गढ़ जोगाउन कठिन हुने भाजपा दलका नेताहरूले आन्तरिक रूपमा स्वीकार गरिरहेका छन्।
भाजपा नेतृत्वले सार्वजनिक रूपमा स्वप्ना बर्मनबारे चिन्तित बनाएको स्वीकार गरेको छैन। तर हालै पार्टीको महिला मोर्चाको जलपाइगढ़ी जिल्ला सभापतिका रूपमा डाबग्राम–फूलबारी क्षेत्रकी राजवंशी महिला प्रीति बर्मनलाई नियुक्त गरेर स्वप्ना बर्मनप्रति उत्पन्न डर अप्रत्यक्ष रूपमा देखिन्छ। स्वप्नालाई हेरेर राजवंशी मत तृणमूलतर्फ जान नदिन भाजपाले प्रीतिलाई रणनीतिक रूपमा अघि सार्न खोजेको राजनीतिक विश्लेषकहरूको एक हिस्साको धारणा छ। प्रीति राजवंशी अनुहार हुन् र डाबग्राम–फूलबारी विधानसभा क्षेत्रकै वासिन्दा पनि हुन्। भाजपाका एक स्थानीय नेताले भने, प्रीति बर्मन हाम्रो दलकी दीर्घकालीन कार्यकर्ता र स्थानीय वासिन्दा हुन्। तिनलाई यति ठूलो जिम्मावारी दिइनुले चुनाउ प्रतिस्पर्धामा हामीलाई थप फाइदा पुग्ने अपेक्षा छ। यसअघि यहाँबाट कुनै महिलाले यस्तो सम्मान पाएकी थिइनन्।
यद्यपि भाजपाको डाबग्राम–फूलबारी ब्लक अल्पसङ्ख्यक सेलका अध्यक्ष मतिउर रहमानले भने, हाम्रो महिला मोर्चाको सभापति नियुक्ति स्वप्ना बर्मन तृणमूलमा जानभन्दा धेरै अघि नै तय भइसकेको थियो। साथै यस विधानसभा क्षेत्रका जनतामाझ तृणमूलको कुनै स्थान छैन। तृणमूलसित स्थानीय स्तरमा उम्मेदवार बनाउने कोही छैन। त्यसैले बाहिरबाट उम्मेदवार ल्याउने सोच बनाएको छ। यसैबीच शुक्रवार स्वप्नालाई केन्द्रमा राखेर डाबग्राम–फूलबारीमा तृणमूलको एकताबद्ध तस्वीर सार्वजनिक भएको विषयमा पनि भाजपा खेमामा चर्चा भइरहेको छ। सूत्रअनुसार स्वप्नाको सामना गर्न भाजपाले राजवंशी मत तान्न प्रीति बर्मनलाई प्रयोग गर्ने तयारी गरिरहेको छ जसका लागि भाजपा खेमाले तयारी आरम्भ गरिसकेको छ।

By Paromita