सन्दकफूमा हिमपात अनि विभिन्न जिल्लामा वृष्टिपात

मङ्गलवार सन्दकफू क्षेत्रमा हिमपातको खबरले पर्यटकहरूलाई धेरै उत्साहित बनाएको छ। सामान्यत फरवरी महीनामा सन्दकफू क्षेत्रमा हिमपात नहुने भए पनि यो वर्ष फरवरी महीनाको अन्त्यतिर भएको हिमपातले सबैलाई आनन्दित तुल्याएको छ। मौसम विभागले पश्चिम बङ्गालका विभिन्न जिल्लामा मङ्गलवार वृष्टिपात हुने सूचित गराएको थियो। मौसम विभागको पूर्वानुमान अनुरूप आज दार्जीलिङ जिल्लामा सामान्य वृष्टिपातसितै असिना परेको छ।
वसन्तमै दक्षिण बङ्गालमा पनि मौसमको पहिलो वर्षा भयो। अलिपुर मौसम विभागको पूर्वानुमानअनुसार मङ्गलवार सखारै बिहान हल्कादेखि मध्यम वर्षाले कोलकातासहित वरिपरिका क्षेत्र भिजेका छन्। साथै विभिन्न जिल्लाहरूमा पनि मध्यम वर्षा भएको छ। यसैबीच जाड़ोको अनुभूति झण्डै समाप्त भएको छ। घामको ताप र गर्मी दुवै बढ्दो क्रममा छ। मौसमविद्हरूअनुसार चालु फरवरीको अन्त्यसितै पहाड़देखि समतलसम्म सबै ठाउँबाट जाड़ोको प्रभाव पूर्ण रूपमा अन्त्य हुनेछ। आज पुरुलिया, झारग्राम, बाँकुड़ा, पूर्व र पश्चिम बर्धमान, वीरभूम, हुगली, हाउड़ा, कोलकाता, मुर्शिदाबाद, उत्तर र दक्षिण 24 परगना, नदिया तथा पूर्व र पश्चिम मेदिनीपुरका केही भागहरूमा हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ। साथै मेघगर्जन र हुरी-बतास पनि चल्नेछ।
उल्लेखनीय छ, आइतवार अचानक परेको तीव्र हिमपातका कारण सिक्किमको छाङ्गुमा अलपत्र परेका 46 जना पर्यटकहरूलाई सेनाका जवानहरूले उद्धार गरेका हुन्। दिउँसो हिमपात हुन सक्ने खबर पाएर सयौँ पर्यटकहरू नथुला र छाङ्गुमा भेला भएका थिए। दिउँसो हल्का हिमपात भइरहेको थियो। बेलुकी अचानक भीषण हिमपात आरम्भ भयो। छिट्टै अन्धकार छायो। नथुला जाने बाटो हिउँले ढाकियो। पर्यटकहरू आएका गाड़ीहरू बाटोमै थुनिए। तीमध्ये धेरै पर्यटक फर्किए पनि 46 पर्यटकहरू अलपत्र परे। खबर पाएपछि भारतीय सेनाका जवानहरू उद्धार कार्यमा खटिए।

By Paromita