चुनाउ प्रचार बन्द गरेर धर्नामा शङ्कर घोष

कुल्लीपाड़ाकी एक किशोरीको मृत्यु घटनाको 24 घण्टा बितिसक्दा पनि मुख्य आरोपी गृहशिक्षक पक्राउ नपरेपछि जङ्क्शन क्षेत्र तनाउग्रस्त बनेको छ। पुलिसको भूमिकाप्रति आक्रोश व्यक्त गर्दै आज सिलगढ़ी विधानसभा क्षेत्रका भाजपा उम्मेद्वार शङ्कर घोष अम्बेडकर मूर्तिअघि धर्नामा बसेका छन्। साथै आरोपी पक्राउ नपरेसम्म सबै प्रकारका चुनाउ प्रचार बन्द राख्ने तिनले स्पष्ट रूपमा घोषणा गरे। मङ्गलवार जङ्क्शनस्थित बीआर अम्बेडकर मूर्तिको फेदमा धर्ना दिँदै शङ्कर घोषले भने, एकपछि अर्को यस्ता घृणित घटना स्वीकार्य छैन। चुनाउभन्दा त्यो किशोरीका हत्यारालाई पक्राउ गर्नु धेरै महत्त्वपूर्ण छ। जबसम्म आरोपी पक्राउ हुँदैन म कुनै पनि प्रचार गर्ने छुइनँ।
आज बिहानदेखि नै जङ्क्शन र हिलकार्ट रोड क्षेत्रमा पटक–पटक तनाउ फैलियो। आरोपी गृहशिक्षकलाई पक्राउ गर्न माग गर्दै मृतकको घर अघाड़िबाट ठूलो जुलूस निकालियो। जुलूसले आरोपीको घरतर्फ जाने गल्लीमा प्रवेश गर्ने प्रयास गर्दा पुलिस र अर्धसैनिक बलले अवरोध गरे। यसले अवस्था अत्यन्त तनाउपूर्ण बनायो। पछि प्रदर्शनकारीहरूले एयरभ्यू मोड़मा सड़क अवरोध गरे र जुलूससहित एसडीओ कार्यालयअघि पुगेपछि सड़कमा बसे। छिट्टै पक्राउ नगरे तिनीहरू अझ ठूलो आन्दोलनमा उत्रिने प्रदर्शनकारीहरूले चेताउनी दिएका छन्।
उल्लेखनीय छ, आइतवार बिहान कुल्लीपाडामा एक किशोरीको शव फेला परेपछि क्षेत्रमा सनसनी फैलिएको थियो। परिवारको आरोपअनुसार गुरुङबस्ती क्षेत्रका एक गृहशिक्षक नै यस मृत्युका लागि जिम्मावार छन्। घटनापछि आक्रोशित भीड़ले उक्त शिक्षकको घरमा तोड़फोड़ गरेको थियो। तर घटना भएको एक दिन बितिसक्दा पनि पुलिसले कसैलाई पक्राउ गर्न नसक्दा सम्पूर्ण क्षेत्रमा आक्रोश फैलिएको छ।

By Paromita