जनसम्पर्क प्रतिस्पर्धामा स्कूटरम्यान बनाम मिटिङम्यान

स्कूटरम्यान बनाम मिटिङम्यान! पहिलो व्यक्ति सिलगढ़ीका विधायक तथा भाजपा उम्मेद्वार शङ्कर घोष हुन्। दोस्रो व्यक्ति सिलगढ़ीका मेयर गौतम देव तृणमूल कङ्ग्रेसका उम्मेद्वार। मतदानको लड़ाईँमा कोही कसैलाई एक इञ्ज जमीन छोड्न तयार छैनन्। प्रचारमा दुवैले एकार्कालाई कठोर टक्कर दिइरहेका छन्। यसपल्ट जनताको फसेला तिनीहरूको पक्षमा आउने दुवैको अपेक्षा छ। स्थानीय राजनीतिमा यसै विषयमा चर्चा चलिरहेको छ। राज्यका प्रमुख ध्यानाकर्षण गर्ने विधानसभा क्षेत्रमध्ये एक हो सिलगढ़ी। यहाँका विधायक शङ्कर यसपल्ट पनि भाजपाका उम्मेद्वार हुन्। शहरको 24 नम्बर वार्डमा तिनको घर छ। पाँच वर्षमा तिनले केही उपाधि पाएका छन्। तीमध्ये स्कूटरम्यान प्रमुख हो। तिनी शहरमा विलासी गाड़ी प्रयोग नगरी प्रायः स्कूटरमै घुम्ने गर्छन्। चुनाउ मैदानमा पनि यसै गरी निस्किएर मुस्कानसहित जनसम्पर्क गरिरहेका छन्। कहिलेकाहीँ गौशालामा गएर गाईको पूजा गर्छन्, नागा साधुको आशीर्वाद लिन्छन्। फेरि बजार र टोलहरूमा घुमेर जनसम्पर्क गरिरहेका छन्। आसन जोगाउन यस्तै छवि प्रस्तुत गर्न चाहन्छ भाजपा।
नगरपालिकाका विपक्षी दलका नेता भाजपाका अमित जैनले भने, हाम्रा उम्मेद्वार सामान्य जीवनशैली अपनाउँछन्। अझै पनि स्कूटर लिएर शहर घुम्छन्। यसपटक चुनाउमा यही तिनको टीआरपी हो। भाजपा उम्मेद्वारअनुसार प्रचारमा नागरिकहरूबाट व्यापक समर्थन पाइरहेका छन्। यसपल्ट पनि कमल फुल्नेछ।
अर्कातिर तृणमूलका उम्मेद्वार मेयर गौतम देव हुन्। शहरको कलेजपाड़ामा तिनको घर छ। तिनी पूर्व मन्त्री पनि हुन्। नागरिकका समस्या समाधान गर्न र विकास अघि बढ़ाउन तिनले शहरका विभिन्न भागमा घुम्नका साथै नियमित प्रशासनिक बैठक पनि गर्दै आइरहेका छन्। नगरपालिकाका अधिकारी मात्र होइन एसजेडीए, राष्ट्रिय राजमार्ग प्राधिकरण, उत्तर बङ्गाल विकास विभाग लगायत विभिन्न निकायका अधिकारीहरूसित बैठक गरिसकेका छन्। विभिन्न समस्याहरू समाधान गरेका छन्। नगरवासीका घरमा रात काटेका छन्। अहिले चुनाउ मैदानमा सक्रिय छन्। अहिलेसम्म विभिन्न सङ्गठन र नागरिक समाजसित साना-साना बैठक गरेर रणनीति बनाएका छन्। विभिन्न मन्दिरमा पूजा गरेका छन्। नागा साधुको आशीर्वाद लिएका छन्। अहिले हिँड़ेर विभिन्न क्षेत्रमा गएर जनसम्पर्क गरिरहेका छन्। यद्यपि तिनलाई मिटिङम्यान भनेर भाजपाले व्यङ्ग्य गरेको छ। नगरपालिकाका विपक्षी दलका नेता भन्छन्, तिनले बैठकबाहेक शहरको विकासमा केही गरेका छैनन्। त्यसैले तिनले मिटिङम्यानको उपाधि पाएका हुन्। तर तृणमूलले गौतमलाई शहरको अभिभावकका रूपमा प्रस्तुत गरिरहेको छ। यसपल्ट सिलगढ़ी आफ्नै अभिभावक चाहन्छ भन्ने तिनीहरूको नारा छ। यसअघि नै गौतमको तस्वीरसहित यस्ता ब्यानरमार्फत प्रचार आरम्भ भइसकेको छ। तृणमूल नेता वेदव्रत दत्तले भने, सही विकास योजना र कार्यान्वयनका लागि बैठक अत्यन्त आवश्यक हुन्छ। त्यसैले ममता ब्यानर्जीका सैनिक गौतम दा जति बैठक गर्छन् त्यति नै विकास पनि गर्छन्। तिनले शहरको विकासको स्वरूप नै परिवर्तन गरिदिएका छन्। तिनको नेतृत्व र निगरानीमा जमीनमुनि विद्युत् केबल, खाना पकाउने ग्यास पाइप बिछ्याइँदैछ, राष्ट्रिय राजमार्ग विस्तारको कार्य भइरहेको छ। यसपल्ट अन्तिम जीत तृणमूलकै हुनेछ।

By Paromita