भारतको छौडादानोस्थित एक अर्केस्ट्राबाट ७ नेपाली युवतीको उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरेर वीरगन्ज ल्याइएको छ । मानव बेचबिखन नियन्त्रणमा सक्रिय संस्था आफन्त नेपालको वीरगन्ज शाखा र पर्सा प्रहरीको संयुक्त टोलीले ७ युवतीलाई उद्धार गरेर भदौ ९ गते वीरगन्ज ल्याएको हो ।
करिब एक महिनाअघि पनि सोही ठाउँबाट ४ नेपाली युवतीलाई उद्धार गरी ल्याइएको थियो ।
उद्धार गरिएकाहरु उदयपुर, कास्की, बाग्लुङ, नवलपरासी, सुनसरी र पर्सा जिल्लाका हुन् । १८ देखि २७ वर्ष उमेर समूहका ती युवतीलाई छौडादानो स्थित पायल अर्केस्टाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए । यस मिसनमा भारतीय प्रहरीको सहयोग रहेको उनले बताए ।
खनालका अनुसार भारतको छौडादानो नगर पञ्चायत छौडादानो वडा नम्बर ११ आदापुर बजार भन्ने स्थानमा पुर्याइ युवतीहरुको बेचबिखन भइरहेको भन्ने सूचना प्राप्त भएपछि भारतीय प्रहरीसँग समन्वय गरिएको थियो । प्रहरीले सोधपुछ गर्दा युवतीहरुले छौडादानो घर भएका २५ वर्षीय विकास कुमार र उनकी पत्नी नेपालको धनुषा जिल्ला नगराइन घर भएकी २४ वर्षीया अजिमा खातुनले अर्केस्ट्रा पुर्याएका थिए । विकास र अजिमाले युवतीहरुलाई आकर्षक तलब हुने र त्यसमा काम लगाइदिने प्रलोभन पारेर भारत लगेका थिए ।
छौडादानो पुगेपछि सबै चेलीहरुको मोबाइल फोन खोसी उनीहरुलाई एउटा अँध्यारो कोठामा नियन्त्रणमा राखिएको थियो । उद्धार गरिएका युवतीले भारतकै विभिन्न स्थानमा आफूहरुलाई पठाइ विकास दम्पतीले रकम लिएको बताएका छन् । सोधपुछमा उनीहरुले इच्छाविपरीत अशोभनीय पोशाकमा बिनापारिश्रमिक नाचगान गराई शारीरिक तथा मानसिक यातना दिएर श्रमशोषण र बेचबिखन गर्ने उद्देश्यले अन्यत्र पठाउने तयारी भइरहेको बताएका छन् ।
विकास दम्पतीलाई प्रहरीले भदौ १० गते वीरगन्ज महानगरपालिका १६ इनर्वास्थित नेपाल-भारत सीमाबाट नियन्त्रणमा लिएको थियो । उनीहरुलाइ शुक्रबार पर्सा जिल्ला अदालतमा पेस गरी मानवबेचबिखन कसुरमा अनुसन्धान अगाडि बढाइएको छ ।
आफन्त नेपाल वीरगन्ज शाखा प्रमुख मुना रानाका अनुसार विकास उपनाम भएका विकेश कुमार र ममता उपनाम भएकी अजिमाले एक वर्षअघि विवाह गरेका थिए । विकेशले छौडादानोमा अर्केस्टा सञ्चालन गरेका छन् । अजिमाले भारतबाटै फेसबुक मार्फत ५ जना साथी बनाइ कसैलाई १० महिना र कसैलाई ६ महिना पहिले अर्केस्टामा विभिन्न कार्यक्रमहरुमा नृत्य गर्ने काम गरे सिजनमा एक लाख रुपैयाँ र अफ सिजनमा ३० देखि ४० हजारसम्म कमाइ हुने प्रलोभन देखाएकी थिइन् ।
‘अजिमाले वीरगन्जमा फरक-फरक मितिमा ५ चेलीलाई भेटेर भारत लगेकी थिइन्, थप २ लाई पनि त्यस्तै प्रलोभन दिई ३ वर्ष पहिले उक्त आर्केस्टामा लगिएको थियो,’ उनले भनिन्, ‘विकासले ती चेलीहरुको मोबाइल खोसेर राख्ने, कहिले रातभरी, कहिले दिनभरी विभिन्न पार्टीहरुमा नचाउने, भनेजति पारिश्रमिक नदिने, घरमा आफन्तसँग कुरा गर्छु भन्दा कुरा पनि नगराउने, मेरो काम गरेको पैसा दिनुस भन्दा नदिने, अनि घर जान मन लग्यो घरमा जान देउ भन्दा विकास र अजिमाले उनीहरुलाई बेल्टले, पाइपले मरणासन्न हुने गरी कुटपिट गर्ने, शरीरमा टोक्ने, चप्पलमा थुकेर चाट्न लगाउने, घर जाने कुरा गरेमा मार्ने धम्कीसमेत दिने जस्ता अनैतिक क्रियाकलाप गर्दै उनीहरुलाई बन्दक जस्तै बनाएर राखेका थिए ।’