खुल्ला सीमामा काँड़ातार लगाउन मालदा जिल्ला प्रशासनले सात ऐकर जमीन खरिद गरेको छ। काम तीव्र गतिमा अघि बढ़िरहेको छ र बाँकी जमीन पनि चाँड़ै खरीद गरिने दाबी प्रशासनले गरेको छ। मालदाको 160 किलोमिटर सीमामध्ये लगभग 33 किलोमिटर खुल्ला रहेको छ। यस विषयबारे अनुप्रवेशको मुद्दामा पटक–पटक राजनीतिक विवाद हुने गर्दछ। अतिरिक्त जिल्ला अधिकारी (भूमि) देवाहुति इन्द्रले जानकारी दिँदै काम तीव्र गतिमा भइरहेको बताए। छिट्टै जमीन खरीद प्रक्रिया सम्पन्न गर्न सकिने तिनको भनाइ छ।
प्रशासन सूत्रअनुसार कालियाचकको खुल्ला सीमा क्षेत्रमा जमीन पहिचानको कार्य भइरहेको छ। प्रक्रिया छिट्टै टुङ्गिने विषयमा जिल्ला प्रशासन आशावादी छ। हबिबपुर ब्लकका दुई मौजामा जमीन पहिचान गरिएको छ र त्यहाँ सात ऐकर जमीन खरीद गरिएको छ। हबिबपुर ब्लकका थप दुईदेखि तीन मौजामा जमीन खरिद प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ। प्रशासनका एक अधिकारीअनुसार हबिबपुर ब्लकको खुल्ला सीमा क्षेत्र प्रायः सबै तल्लो भूभागमा पर्छ। त्यसकारण अक्टोबर महीनासम्म पनि ती क्षेत्रमा वर्षाको पानी जमेको थियो। त्यसपछि नोभेम्बरदेखि पूर्ण रूपमा एसआईआरको कार्य आरम्भ भयो। प्रशासनका धेरै कर्मचारी त्यस कार्.मा व्यस्त छन्। दिसम्बर र जनवरी महीनामा जमीन पहिचान तथा खरीद कार्य अघि बढ़ाइएको हो।
नियमअनुसार सीमा पहिचान गरी बीएसएफले सीपीडब्ल्यूडीलाई प्रतिवेदन दिँदछ। त्यसपछि सीपीडब्ल्यूडीले आवश्यक जमीनका लागि राज्य सरकारसमक्ष निवेदन गर्दछ। सम्बन्धित जमीन पहिचान गरी भूमि विभागमार्फत त्यसको खरीद व्यवस्था राज्य सरकारले गर्दछ। हालै कलकत्ता उच्च न्यायालयले यस विषयमा फसेला दिएको थियो। उक्त फसेलामा राज्यका नौ जिल्लामा 31 मार्चभित्र बीएसएफलाई आवश्यक जमीन हस्तान्तरण गर्न राज्य सरकारलाई निर्देश दिइएको छ।
सीमामा काँड़ातार लगाउन सात ऐकर जमीनको खरीद
