किशोरको मृत्युपछि होम अनि मर्गअघि विक्षोभ प्रदर्शन

होममा आत्महत्या गर्ने प्रयास गरेका किशोरको मृत्यु जलपाइगढ़ी मेडिकलअन्तर्गत सुपर स्पेशियालिटी अस्पतालमा भएको छ। शनिवार राति तिनको मृत्यु भएको हो। घटनापछि होम प्रशासनको लापरवाही भएको आरोप लगाउँदै मृतकका परिवारका सदस्यहरूले आवाज उठाएका छन्। होममा पठाउनअघि पुलिसले ती 13 वर्षीय किशोरलाई कुटपिट गरेको आरोप पनि मृतकका आफन्तहरूले लगाएका छन्। यस विषयमा आइतवार होम र मर्ग परिसरमा पटक–पटक प्रदर्शन गर्ने प्रयास गरिएको थियो। कुनै अप्रिय घटना नहोस् भनेर सबै ठाउँमा पुलिस परिचालन गरिएको थियो। घटनाबारे होम प्रशासनसित जिल्ला प्रशासन र चाइल्ड वेलफेयर कमिटीका तर्फबाट प्रतिवेदन माग गरिएको छ। विषय मानव अधिकार आयोगको ध्यानमा पनि पुगेको छ। जाँच आरम्भ गरिएको छ।
कोतवाली थानाका आईसी सञ्जय दत्तले भने, हाल अस्वाभाविक मृत्युको मुद्दा दर्ता गरेर घटनाको जाँच आरम्भ गरिएको छ। आज मृतक किशोरको शवको पोस्टमर्टम गरिएको छ। पोस्टमर्टम रिपोर्ट आएपछि मृत्युको वास्तविक कारणबारे थाहा हुनेछ। कुटपिट गरिएको आरोप पूर्ण रूपमा आधारहीन रहेको दाबी आईसीले गरेका छन्। यसैबीच मृतकका परिवारले जिल्ला पुलिस अधीक्षकसमक्ष लिखित उजुरी दर्ता गरेको छ। घटनाको उच्चस्तरीय जाँचको माग गरिएको छ। मृतकका परिवारअनुसार शुक्रवार दिउँसो जलपाइगढ़ी स्टेशननजिक नम्बर 2 घुम्ती क्षेत्रबाट पुलिसले किशोरलाई उठाएर लगेको थियो। तर पुलिसअनुसार लागू औषधीको लत लागेको आरोपमा स्थानीय मानिसहरूले नै तिनलाई पुलिसको जिम्मा लगाएका थिए। त्यसपछि पुलिसले तिनलाई ल्याएर होममा पठाएको थियो। शुक्रवार राति तिनीहरू कोतवाली थानामा आउँदा त्यति बेला किशोर थानामै रहेका मृतकका आफन्तहरूको दाबी छ। अनुरोध गरे पनि तिनलाई छोड़िएन। त्यसैले तिनलाई कहिले होममा पठाइयो भन्ने विषयबारे तिनीहरूलाई थाहा छैन।
जलपाइगढ़ीको कोरक होम सूत्रअनुसार शुक्रवार राति लगभग 12 बजी पुलिसले किशोरलाई त्यहाँ ल्याएर छोड़ेको थियो। शनिवार बिहान उठेर तिनले अन्य आवासीयहरूसित टिफिनमा पायेस र मुराई खाए। सबैसित बसेर कपाल पनि कटाए। त्यसपछि नुहाउन बाथरूममा प्रवेश गरी गाम्छाको पासो लगाएर आत्महत्या गर्ने प्रयास गरे। बाथरूमको ढोका नखोलिएपछि आवासीयहरूले होम प्रशासनलाई खबर गरे। तुरुन्तै ढोका फोड़ेर तिनलाई उद्धार गरी अस्पतालमा भर्ना गरियो। कोरक होमका सुपर गौतम दासले भने, प्रशासनिक स्तरमा जहाँ जे रिपोर्ट गर्नुपर्ने थियो त्यो गरिसकिएको छ। यसबाहेक थप केही भन्न सकिँदैन।

By Paromita