डा. ग्राहम्स होममा बङ्गला नाटक मञ्चनको तयारी

125 वर्षको गौरवपूर्ण यात्रा। कालेबुङस्थित डा. ग्राहम्स होम्स विद्यालयको ख्याति अत्यन्तै राम्रो छ। यहाँका विद्यार्थीहरू अध्ययनसितै नियमित रूपमा नृत्य–सङ्गीत, नाटक लगायत विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुने गर्छन्। विद्यालयमा नाट्य अभ्यासको इतिहास निकै पुरानो छ। तर अहिलेसम्म यस शैक्षिक संस्थामा अङ्ग्रेजीका साथै हिन्दी र नेपालीमा नाटक मञ्चन भए पनि बङ्गाली भाषामा कहिल्यै मञ्चन गरिएको थिएन। यसपल्ट त्यो अभाव पूरा हुँदैछ। रवीन्द्र जयन्तीको पूर्वसन्ध्यामा 8 मई दिउँसो, नाट्य कलाकार रत्ना घोषालको निर्देशनमा विद्यालयको अडिटोरियममा बङ्गाली भाषामा तीनवटा नाटक मञ्चन गरिनेछ। नाटकका रूपमा कविगुरुको लेखन रोगेर चिकित्सा, रोगीर बन्धु र अभ्यर्थना चयन गरिएको छ। हाल तीव्र रूपमा रिहर्सल चलिरहेको छ। विद्यार्थीहरूसितै शिक्षक–शिक्षिकाहरू पनि निकै उत्साहित छन्।
देशभरका जम्मा 160 वटा एङ्ग्लो-इण्डियन विद्यालयमध्ये चौथो स्थानमा यो विद्यालय द एङ्ग्लो-इण्डियन हल अफ फेममा समावेश छ। यहाँ आफ्ना सन्तानलाई अध्ययन गराउन देशका विभिन्न क्षेत्रका साथै विदेशका अभिभावकहरूबीच पनि समान रुचि देखिन्छ। जहाँ साहेबी शैलीमा विद्यार्थीहरूलाई तयार पार्ने परम्परा रहेको छ त्यहाँ यसपल्ट बङ्गाली भाषामा नाटक गर्ने निर्णयले केहीलाई आश्चर्यचकित बनाएको छ। तिनीहरूलाई लक्षित गर्दै प्रधानाध्यापिका जिना राघवनले भनिन्, आश्चर्य मान्नुपर्ने केही छैन। म दक्षिण भारतीय भए पनि बङ्गाली साहित्य पढ्न मन पराउँछु। आफ्नै त्यस रुचिलाई विद्यालयका सबैमा फैलाउने उद्देश्यले यसपल्ट विद्यालयमा बङ्गाली नाटक मञ्चन गर्ने निर्णय गरिएको हो। यही सन्दर्भमा नाट्य कलाकार रत्ना यहाँ आएर तीव्र रूपमा रिहर्सल आरम्भ गरेकी हुन्। प्राथमिकदेखि उच्च माध्यमिक तहसम्मका विद्यार्थीहरू उत्साहपूर्वक 4 अप्रेलदेखि यस विशेष कार्यशालामा सहभागी भएका छन्।
रोगेर चिकित्सा नाटकमा हराधनको भूमिकामा नवौँ कक्षाकी छात्रा इशानी साहा छिन्। रोगीर बन्धु नाटकमा वैद्यनाथको भूमिकामा एघाह्रौँ कक्षाका छात्र अनिरुद्ध मण्डल र दुखीरामको भूमिकामा दशौँ कक्षाकी मृदुला पाल हाल कठोर अभ्यासमा व्यस्त छन्। बङ्गाली विद्यार्थीहरू मात्र होइन यी नाटकहरूमा अबङ्गाली विद्यार्थीहरूलाई पनि समावेश गरिएको छ। कुनै कठिनाइ भइरहेको छैन? रत्नाले भनिन्, प्रत्येक समस्याको समाधान हुन्छ। यी अबङ्गाली विद्यार्थीहरूलाई पहिले तीन–चार दिन केवल बङ्गाली उच्चारण सिकाइयो। त्यसपछि स्क्रिप्ट पढ्न दिइयो र बिस्तारै अभिनय सिकाइएको हो।

By Paromita