वर्षको पहिलो वर्षाले आलु किसानहरू चरम समस्यामा परेका छन्। वर्षाका कारण खेतमा रहेको सबै आलु नष्ट भएको छ। यसले गर्दा किसानहरू ठूलो सङ्कटमा परेका छन्। जलपाइगढ़ीका विभिन्न क्षेत्रका किसानहरूले उच्च ब्याजमा ऋण लिएर आलु खेती गरेका थिए। भर्खरै खेतबाट आलु निकाल्न आरम्भ गरिएको थियो। यसै बेला वर्षा हुँदा खेतमा पानी जमेर लाखौँ रुपियाँ बराबरको आलु नष्ट भएको छ। यस्तो अवस्थामा के गर्ने भनेर किसानहरू अन्योलमा परेका छन्। रातभरि पानीमा डुबेको आलु कुनै हालतमा पनि शीतभण्डारमा राख्न नसकिने तिनीहरूको भनाइ छ।
वर्षाका कारण सबैभन्दा बढ़ी क्षति धूपगुड़ी क्षेत्रका आलु किसानहरूले ब्योहोरेका छन्। बिघा–बिघा आलु खेती भएको जमीनमा पानी जम्दा तिनीहरू ठूलो समस्यामा परेका छन्। जलपाइगढ़ी सदर ब्लकमा पनि ठूलो मात्रामा आलु खेती गरिन्छ। त्यहाँ पनि त्यस्तै अवस्था देखिएको छ। वर्षाले त्यहाँका आलु किसानहरूलाई धेरै क्षति पुऱ्याएको छ।
जलपाइगढ़ीको गडालबारी र मोहितनगर क्षेत्रमा खेतमा रहेको आलु वर्षाको पानीले डुबाउदा किसानहरूलाई गम्भीर चिन्तामा पारेको छ। हिजो राति बानरहाट क्षेत्रमा असिनासहित वर्षा भएकाले त्यहाँ पनि आलुसहित अन्य बाली नष्ट भएको किसानहरूको गुनासो छ। वर्षाबाट आलुलाई कसरी सुरक्षित राख्ने भन्ने चिन्तामा तिनीहरू परेका छन्।
वर्षको पहिलो वर्षाले आलु किसानहरू समस्यामा
