दार्जीलिङ हिल्स युनिभर्सिटीमा स्थायी उपकुलपति

दार्जीलिङ हिल्स युनिभर्सिटीको पहिलो स्थायी उपकुलपति तेजिमाला गुरुङ नागले सोमवारदेखि आफ्नो दायित्व आरम्भ गरेकी छन्। सर्च कमिटीमार्फत र सर्वोच्च न्यायालयको निगरानीमा राज्यका युनिभर्सिटीहरूमा उपकुलपतिको नियुक्ति प्रक्रिया चलिरहेको छ। राज्यपाल तथा कुलपति सी. भी. आनन्द बोसले तेजिमाला गुरुङ नागलाई दार्जीलिङ हिल्स युनिभर्सिटीका उपकुलपति नियुक्त गरेका हुन्। तेजिमाला नर्थ इष्टर्न हिल युनिभर्सिटीमा इतिहासकी प्राध्यापक थिइन्। दार्जीलिङ हिल्स युनिभर्सिटीको तर्फबाट तिनलाई स्वागत गर्न शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई उपस्थित हुन सूचना जारी गरिएको छ। सोमवार बिहान 10.30 बजीसम्म सबैलाई मङ्ग्पु आईटीआई भवनको क्याम्पसमा उपस्थित हुन भनिएको छ।
नयाँ स्थायी उपकुलपतिले दायित्व आरम्भ गरेपछि युनिभर्सिटीका समस्याहरू क्रमशः समाधान हुने आशा गरिएको छ। 2020-21 मा स्थापना भएदेखि नै दार्जीलिङ हिल्स युनिभर्सिटीले विभिन्न समस्याहरूको सामना गर्दै आइरहेको छ। युनिभर्सिटीका अस्थायी रजिष्ट्रार सुजाता रानी राईले भनिन्, हामी सबै नयाँ उपकुलपतिको प्रतीक्षामा छौँ। आरम्भदेखि नै विभिन्न कठिनाइहरूको सामना गर्दै यो युनिभर्सिटी चल्दै आइरहेको छ। स्थायी उपकुलपति नहुँदा समयमा धेरै कदमहरू उठाउन सकिएको थिएन। तर अब ती सबै समस्या क्रमशः समाधान हुने हाम्रो आशा छ।

आफ्नै क्याम्पस नहुँदा मङ्ग्पु आईटीआई कलेजमा अस्थायी रूपमा युनिभर्सिटी सञ्चालन गरिएको थियो। तर कोभिडको कारण र त्यसपछि पूर्वाधारको अभावले त्यहाँ कक्षा सुचारु गर्न सकिएको थिएन। स्थायी कर्मचारी, अधिकारी र शिक्षकहरूको पनि नियुक्ति भएको छैन। अझसम्म युनिभर्सिटीको आफ्नै नियमावली (स्ट्याचुट) बनिएको छैन। नियमावली तयार गरेर उच्च शिक्षा दफ्तरमा पठाइए पनि स्वीकृति भएर कार्यान्वयन हुन सकेको छैन। अन्य युनिभर्सिटी र कलेजका शिक्षकहरूले अतिरिक्त जिम्मावारी वहन गरेर पढ़ाइरहेका छन्। तीमध्ये धेरैको पारिश्रमिक अझै बाँकी छ। यस्तो अवस्थामा धेरैले पढ़ाउने उत्साह गुमाएका छन्। उपकुलपति नहुँदा गत वर्ष युनिभर्सिटीको भर्ना प्रक्रिया रोकिएको थियो। यो वर्ष पुनः भर्ना प्रक्रिया आरम्भ भएको छ। तर अवस्था देखेर धेरैले यहाँ भर्ना लिने उत्साह गुमाए। युनिभर्सिटीको आफ्नै क्याम्पस भवन नहुँदा सरकारको तर्फबाट जोगीघाटमा जग्गा व्यवस्था गरिएको थियो। त्यहाँको सिमाना पर्खाल आधा मात्र बनाइएको छ। उपकुलपति र स्थायी अधिकारी नहुँदा ती कार्यहरूलाई सही रूपमा अघि बढ़ाउन पनि सकिएको छैन।

By Piyali Poddar