पञ्चायत समितिका कर्माध्यक्ष पनि मतदाता सूचीबाट बाहिर

दोस्रो सप्लिमेण्टरी सूची प्रकाशित भएपछि नक्सलबारीमा 66 जना मतदाताहरूको नाम मतदाता सूचीबाट निकालिएको छ। तीमध्ये पञ्चायत समितिका कर्माध्यक्ष पनि सामेल छन्। मतदाता सूचीबाट नाम हटेको रिपोर्ट आएपछि तनाउ चर्किएको छ।
प्राप्त रिपोर्टअनुसार हात्ती घिसास्थित सेबदुल्ला जोट प्राथमिक विद्यालयको बूथ नम्बर 25-62 मा यी नामहरू हटाइएका हुन्। यसअघि 28 फरवरीमा सार्वजनिक गरिएको पूर्ण मतदाता सूचीमा 40 जनाको नाम छुटेको थियो जबकि मोठ 966 दर्ता मतदातामध्ये 111 जनाको स्थिति समीक्षाअन्तर्गत राखिएको थियो।
दोस्रो सप्लिमेण्टरी सूची सार्वजनिक भएपछि थप 66 जनाको नाम हटाइएको छ भने अझै 11 वटा मामिला समीक्षाअन्तर्गत छन्। नयाँ रूपमा हटाइएका नामहरूमध्ये नक्सलबारी पञ्चायत समितिका कर्माध्यक्ष अशरफ अन्सारी पनि सामेल छन्। अन्सारीले आरोप लगाउँदै भने, नाम हटाउने कार्यले अल्पसङ्ख्यक समुदायका सदस्यहरू र दुईजना आदिवासी मतदातालाई असमान रूपमा प्रभावित गरेको छ। तिनले थप भने, भारतको चुनाउ आयोगको यो कदम राजनीतिक रूपमा प्रेरित छ र भारतीय जनता पार्टीलाई फाइदा पुर्यासउने उद्देश्यले यो कार्य गरिएको हो। संविधानमाथि पूर्ण विश्वास रहेको अनि न्यायको खोजी गरिरहेको अन्सारीले बताएका छन्। तिनले भने, मेरा बाबाको नाम 2002 को मतदाता सूचीमा थियो। मेरा बाजेले 1951 मा मतदान गरेका थिए र मसित सबै आवश्यक कागजातहरू उपलब्ध छन्।
अन्य प्रभावित मतदाताहरूले पनि त्यस्तै चिन्ता व्यक्त गर्दै पुनरावलोकन प्रक्रियामा अनियमितता भएको आरोप लगाएका छन्। नाम हटाइएका मतदाताहरूले दिनभरि आक्रोश व्यक्त गर्दै सम्बन्धित निकायसित सुधारात्मक कदम चाल्न माग गरेका छन्।

By Paromita