उच्च माध्यमिकमा पास गराउने मागमा पथावरोध

उच्च माध्यमिक परीक्षामा उत्तीर्ण गराउने मागमा शनिवार उत्तर बंगालका विभिन्न जिल्लामा अनुत्तीर्ण विद्यार्थीहरूले विक्षोभ प्रदर्शन गरे । विद्यार्थीहरूको यस्तो आन्दोलन सिलगढीलगायत कोचबिहार, जलपाइगढ़ी र अलिपुरद्वार जिल्लाका विभिन्न ठाउँ पनि फैलियो। उत्तीर्ण गराउने मागलगायत उच्च माध्यमिक परीक्षामा कम्ती नम्बर दिइएको आरोप लगाउँदै विद्यार्थीहरू आन्दोलनमा ओर्लिएका हुन् कोरोना भाइरसको संक्रमणले गर्दा यसपालि माध्यमिक र उच्च माध्यमिक परीक्षा भएन । विद्यार्थीहरूको नवीं क्षेणीको परिणामलगायत आन्तरिक मूल्यांकनको आधारमा माध्यमिकको अनि माध्यमिक र एघारौं श्रेणीको परीक्षा र प्रयाक्टिकलको परिणामलगायत आन्तरिक मूल्यांकनको आधारमा उच्च माध्यमिक परीक्षाको परीक्षा परिणाम घोषणा गरियो । माध्यमिक परीक्षामा सय प्रतिशत परीक्षार्थीहरू उत्तीर्ण भए पनि उच्च माध्यमिक परीक्षामा केही विद्यार्थीहरू असफल भए । परीक्षा नलिई नै कसरी अनुत्तीर्ण गरियो ? भन्ने प्रश्न विद्यार्थी र अभिभावकहरूको छ । यस्तै प्रश्न उठाउँदै अनुत्तीर्ण विद्यार्थी र अभिभावकहरूले शनिवार पनि सिलगढ़ीलगायत उत्तरबंगालका विभिन्न क्षेत्रमा विक्षोभ प्रदर्शन र पथावरोधहरू गरे ।

सिलगढीको आश्रमपाड़ामा रामकृष्ण शारदामणि विद्यापीठका १४ जना छात्राले शनिवार बिहान ११ बजीदेखि स्कूल अगाडिको सड़क अवरोध गरे। यी १४ जना छात्रामध्ये ९ जना उच्च माध्यमिक परीक्षामा अनुत्तीर्ण भएका छन् भने पाँचजना छात्रा एउटा अथवा दुइवटा विषयमा अनुत्तीर्ण भएका छन् । सबैलाई उत्तीर्ण गराउने मागमा यी छात्राहरूले स्कूल अगाड़िको महत्त्वपूर्ण मार्ग तीन घण्टाभन्दा धेर समयसम्म अवरोध गरेका हुन्। सुदीप अधिकारीको नेतृत्वमा पानीट्यांकी पुलिस फाँड़ीका पुलिस बल पथावरोध स्थलमा पुगे पनि अवरोध हटाउन सकेन । आफूजा बेगम, सन्तोषी राय र पूजा दासलगायत छात्राहरूले बताए अनुसार तिनीहरू सबैको माध्यमिक उत्तीर्ण गरेपछि एघारौं श्रेणीमा पनि नराम्रो रिजल्ट गरेका थिएनन्। स्कूलको भूलले गर्दा नै उच्च माध्यमिक परीक्षामा तिनीहरू अनुत्तीर्ण भएको आन्दोलित विद्यार्थीहरूको आरोप थियो। उच्च माध्यमिक परीक्षामा उत्तीर्ण गराउने आश्वासन पाए नै पथावरोध हटाउने कुरा छात्राहरूले बताए।

शनिवार अपराह्न प्रायः २ बजी स्कूलकी भारप्राप्त प्रधानाध्यापिका बनानी चक्रवर्ती पथावरोध स्थलमा पुगिन् अनि आन्दोलनरत छात्राहरूसँग कुराकानी गरिन् तिनले छात्राहरूलाई आइतवार स्कूलमा आएर शिक्षिकाहरूसँग यसबारे विस्तृत जानकारी लिने कुरा राखिन् । तर आन्दोलित छात्राहरूले सबैलाई उत्तीर्ण गराउने मागमा अडिग रहँदै पथावरोध हटाउन अस्वीकार गरे नै बनानी चक्रवर्तीले अनुत्तीर्ण छात्राहरूका दुइजना प्रतिनिधिलाई लिएर स्कूलका शिक्षिका अथवा अशिक्षण कर्मी उच्च माध्यमिक शिक्षा परिषद्को क्षेत्रीय कार्यालय जाने अनि त्यहाँ विद्यार्थीहरूको माग राख्ने आश्वासन दिइन् । स्कूलका भारप्राप्त प्रधानाध्यापिकाको आश्वासनपछि छात्राहरूले पथावरोध हटाए । स्मरण रहोस्, शुक्रवार सिलगढ़ी गर्ल्स हाई स्कूलका अनुत्तीर्ण छात्राहरूले पनि स्कूलकी प्रधानाध्यापिकाको घेराउ गर्दै विरोध प्रदर्शन गरेका थिए ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *