विश्व नम्बर १ टेनिस खेलाडीको दोस्रोपटक पनि अष्ट्रेलियन भिसा रद्द

विश्वका नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा अष्ट्रेलियाले एकपटक फेरि रद्द गरिदिएको छ । उनले खोप नलगाएकाले नै समुदायका लागि जोखिमपूर्ण हुनेभन्दै देश प्रवेशमा रोक लगाइने बताइएको छ ।
  
उनले सोमबारदेखि सुरु हुने अष्ट्रेलियन ओपन खेल्ने तय भएको थियो । यस्तोमा आप्रवासन मन्त्री एलेक्स हकले सार्वजानिक हितका निम्ति आफूसँग जोकोभिचको भिसा रद्द गर्ने पूरा अधिकार भएको बताएका हुन् ।
 
यो घटनाको अर्थ जोकोभिच अब तीन वर्षसम्म अर्को नयाँ अष्ट्रेलियन भिसा लिन प्रतिबन्धित हुन सक्छन् । यसबाट बच्न उनले विशेष छुट प्राप्त गर्नुपर्ने हुन्छ ।

अष्ट्रेलियन ओपनका नौपटक विजेता रहिरसकेका जोकोभिच टेनिस इतिहासकै सफल पुरुष खेलाडी हुन् ।
 
तर, यसअघि पनि उनले खोप सम्बन्धी छुट पाएको कुनै प्रमाण देखाउन नसकेपछि अष्ट्रेलियाले भिसा रद्द गरिदिएको थियो । त्यसैगरी उनले आफ्नो यात्रा विवरणबारे पनि गलत जानकारी दिएको खुलासा भएको थियो । उनको कागजमा अष्ट्रेलिया प्रवेशको १४ दिन अगाडि कतै यात्रा नगरेको दाबी गरे पनि उनी स्पेन गएर आएको पत्ता लागेको थियो । पछि उनले यसलाई जानीजानी नभइ झुक्किएर गल्ती भएको बताएका थिए ।

त्यसैगरी उनले कोभिड पोजेटिभ भएपछि एक संचारकर्मीसँग भेटेर कुराकानी गरी  फोटोसुटसमेत गरेको स्वीकार गरेका छन् । अहिलेसम्म पनि यो मुद्दाबारे विश्वव्यापी बहस चलिरहेको छ जसमा कतिले जोकोभिचको समर्थन गरेका छन् भने कतिले उनलाई गैरजिम्मेवार ठहर गरेका छन् । 

अष्ट्रेलियन नागरिकहरुले उनको अधिक आलोचना गरिरहेका छन् । अष्ट्रेलियामा केही साता अघिसम्म पनि कडा कोभिड लकडाउन जारी थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *