कालिम्पोङमा सम्पन्न साइकल रेसको उपाधि नेपालीलाई

कालिम्पोङमा सम्पन्न इन्डिपेन्डेन्ट एमटिबी साइक्लिङ रेसमा महिला र पुरुषतर्फको दुवै उपाधि नेपालीले जितेका छन् । पुरुषतर्फ नेपालका सशस्त्र प्रहरी बलका लक्ष्मण मल्ल र महिलातर्फ नेपालकै अनिता राईले जितेका छन् । भारतको स्वतन्त्रता दिवसको अवसरमा कालिम्पोङ डिस्टक साइक्लिङ एसोसीएसनको आयोजना र कालिम्पोङ पुलिस डिपार्टमेन्टको सहयोगमा आइतबार सम्पन्न साइक्लिङ रेसमा महिला र पुरषको दुवै उपाधि पहिलो पटक नेपालीले जितेका हुन् ।

मल्लले ३८ किलोमिटरको दुरी २ घण्टा ५ मिनेटमा पार गर्दै जिते भने अनिताले १६ किलोमिटरको दुरी १ घण्टा १६ मिनेटमा पार गरिन् । चित्रेदेखि छ माइल, चिब्बो, चालिसे, मंगलधारा, कालिम्पोङ बजार हुँदै १२ माइल, १५ माइल भएर डेलोपार्कमा टुंगिएको साइकल रेसमा पुरुषतर्फ ५० जनाले सहभागिता जनाएका थिए भने महिलाको १६ किमिमा ८ जनाको सहभागिता रहेको रेसमा सहभागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सर्जन डा समिर चौधरीले बताए । उनका अनुसार पुरुषतर्फ दोश्रो स्थानमा रहेका दार्जिलिङका रियान्त राईले २ घण्टा ११ सेकेण्डमा निर्धारित दुरी पार गरे भने दार्जिलिङकै सुधांशु लिम्बुले २ घण्टा ११ मिनेट २ सेकेन्डमा दुरी पारे गरेर तेश्रो भए ।

महिलातर्फ नेपालकै विदिसा चौधरीले १ घण्टा २७ मिनेटमा १६ किलोमिटर दुरी पार गर्दै दोश्रो भइन् भने दार्जिलिङका प्रज्ञा क्षेत्रीले १ घण्टा ३२ मिनेटमा दुरी पार गर्दै तेश्रो भइन् । विजेता महिला र पुरुषहरुलाई नगद १५ हजार, १० हजार र ५ हजार भारु प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *