दशगजामा भारतीयका चार सयभन्दा बढी टहरा, मोरङका ३८ वटा सीमा स्तम्भ गायब

भारतीय नागरिकले दशगजामा फालेका फोहोरको दुर्गन्ध र प्रदूषणका कारण सास्ती खेप्दै नेपाली, आफ्नै भूमिमा नाला बनाउन नेपालीलाई भारतीयले रोके

अन्तर्राष्ट्रिय सीमा सम्झौताअनुसार दशगजा क्षेत्रमा भौतिक संरचना निर्माण गर्न र प्रयोग गर्न कसैले पनि पाउँदैन । तर, नेपाल–भारत सिमानामा पर्ने दशगजा क्षेत्रमा भारतीयले निर्वाध रूपमा घरटहरा बनाएका छन् । 

मोरङको विराटनगर महानगरपालिका–१७ इस्लामपुरमा पर्ने दशगजा क्षेत्रमा भारत विहार राज्यको जोगबनी नगर क्षेत्रका भारतीय नागरिकले घरटहरा, शौचालयजस्ता संरचना निर्माण गरेका छन् । जोगबनीसँग जोडिएको दशगजा क्षेत्रमा भारतीयका एक सयभन्दा बढी घरटहरा छन् । धेरैले घेराबारसहितको घरभित्रै शौचालय निर्माण गरेका छन् भने केहीले कपडाले बेरेर अस्थायी शौचालय बनाएका छन् ।

शगजा क्षेत्रमा बनाइएका संरचनाका कारण नेपाल भारत सीमा सम्झौता उल्लंघन भएको र असुरक्षासमेत बढाएको भन्दै हटाउन नेपाल र भारत दुवै देशका अधिकारहीहरूबीच पटकपटक सहमति भए पनि अझैसम्म घरटहरा हटाइएका छैनन् । सशस्त्र प्रहरी सीमा सुरक्षा बलको प्रतिवेदनअनुसार मोरङमा दशगजा क्षेत्रमा चार सयजति भारतीय नागरिकले घरटहरा बनाएका छन् । दशगजा क्षेत्रमा अवैध बसोवासकै कारण मोरङमा ३८ वटा सीमास्तम्भ हराइरहेका छन् । 

विराटनगर जोगबनी नाकाआसपासको दशगजा क्षेत्रमा भारतीयहरूले जबर्जस्ती रूपमा फोहोर फालेर बाँध निर्माण गरिरहेका छन् । जसले गर्दा नेपाली सिमानासमेत मिचिरहेको छ । भारतीय जोगबनी बजारमा दैनिक उत्पादन हुने सयौँ टन फोहोर भारतीयहरूले विराटनगर महानगरपालिकाको १६, १७ र १८ नम्बर वडासँग जोडिएको दशगजा क्षेत्रमा ववर्षौंदेखि फाल्दै आएका छन् । दैनिक रूपमा फालिने फोहोरले गर्दा दशगजा क्षेत्र पुरिँदै गएको छ भने नेपालतर्फको सिमाना मिचिने जोखिम बढेको छ । स्थानीयका अनुसार जोगबनी बजारमा उत्पादन भएको सबैखाले फोहोर खुला रूपले फाल्दा इस्लामपुर, राइसमिल टोल, रामसेवी टोल, दरैया र जुुटमिल क्वार्टरमा बसोवास गर्ने सयौँ नेपालीले दुर्गन्धका कारण सास्ती पाइरहेका छन् । फोहोरेको दुर्गन्धले र त्यहाँबाट उत्पन्न हुने प्रदूषणले गर्दा उनीहरू खाना खाँदा पनि नाक थुन्न बाध्य छन् । 

नेपाली प्रशासन र स्थानीयवासीले पटक–पटक दशगजामा फोहोर नफ्याँक्न जोगबनी नगरपञ्चायतलाई आग्रह गर्दै आएको छ । तर, पनि कुुनै सुनुवाइ भएको छैन । भारतीयहरूले रेलबाट ल्याएको फोहोरसमेत कसैलाई नसोधी दशगजामा ल्याएर फालिदिने गरेको स्थानीयको गुनासो छ । हेपाहा व्यवहार गर्दै असुरक्षित रूपले फ्याँकेको फोहोरले गर्दा गर्मीमा हैजा फैलने भयले स्थानीय नेपाली सधैँ त्रासमा बस्न बाध्य छन् ।

सीमा क्षेत्रमा भारतले दशगजा मिचेर आफ्नोतर्फ सडकको बहानामा अग्लो बाँध बनाएको छ । त्यही बाँधमुन्तिर दशगजा क्षेत्रमा भारतीयहरूले दैनिक ठेला, रिक्सा अनि ट्याक्टरमा दैनिक सयौँ टन फोहोर फाल्ने गर्छन् । कहिलेकाहीँ मरेका जनावरको सिनोसमेत फालेर नेपालीलाई सास्ती दिने गरेका छन् ।

‘हामीले पटक–पटक दशगजा क्षेत्रमा यसरी फोहोर नफ्याँक्न भारतको जोगबनी नगरपञ्चायतलाई आग्रह गर्‍यौँ, तर उनीहरूले हामीलाई हेपेर वास्तै गरेका छैनन्,’ विराटनगर–१६ जुटमिल दक्षिण गेटमा बसोवास गर्दै आएका युवा मोहम्मद मुक्तार हुसैनले भने । उनका अनुसार सुरक्षाकर्मीहरूले पनि दशगजामा फोहोर नफ्याँक्न पटक–पटक आग्रह गर्ने गरेका छन् । विराटनगर जोगबनी नाकामा पर्ने दशगजा क्षेत्रको नेपालतर्फ विराटनगर जुटमिल एरियामा बाक्लो बस्ती छ । तर, भारतको जोगबनीतर्फ भने नजिकै बस्ती छैन । यसैले भारतीयहरूले हेपेर फोहोर फालिरहेको स्थानीयहरू बताउँछन् । भारतले फोहोर फ्याँकेर दशगजा क्षेत्रको जमिनमा बनाएको बाँधलाई अग्लो पार्दै लगेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *