नेपाल-भारत रेल: १० महिना थन्केको रेल आगामी महिनाबाट ‘सुरु हुने’

गत असोजमा नेपाल भित्रिएको रेल झन्डै १० महिनापछि “साउन महिनाको दोस्रो सातासम्म” सञ्चालनमा आउने अधिकारीहरूले बताएका छन्।

भारतबाट खरिद गरी ल्याइएको रेल लामो समयसम्म ट्र्याकमा त्रिपाल ओढाएर राखिएको भन्दै चौतर्फी रूपमा आलोचना भइरहेका बेला रेल सञ्चालनको अन्तिम तयारीमा जुटेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको हो। मन्त्रालयका प्रवक्ता केशवकुमार शर्माले भने, “रेल सञ्चालनका लागि भारतीय चालक र अन्य नेपाली जनशक्ति लिइएको छ।

उनीहरूको तालिम शुक्रवार सकिन्छ।” लामो समयसम्म सञ्चालनमा आउन नसक्दा भौतिक पूर्वाधारमा परेको प्रभावको निवारण गरेर साउन ६ गते भारतीय पक्षबाट रेल सञ्चालनका लागि आवश्यक संरचना नेपालले बुझ्ने तयारी भएको बताइएको छ। भारतीय सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा भारतको जयनगरदेखि नेपालको जनकपुर हुँदै बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्ग निर्माणाधीन छ।

नेपाल र भारतमा ओहोरदोहोर गर्ने भनिएको रेल सञ्चालनका लागि जनशक्ति र प्राविधिक सहयोग उपलब्ध गराउन नेपाल रेलवे कम्पनी र भारतको कोनकन रेल्वेज कर्पोरेसनबीच गत महिना सेवा सम्झौता भएको थियो।

सुरुमा नेपालले भारतसँग ‘वेट लिज’ सम्झौता गर्ने तयारी गरेको भए पनि पछि त्यसो हुन नसक्दा सञ्चालनमा समस्या आएको रेल विभागमा काम गरिसकेका विज्ञ प्रकाश उपाध्याय बताउँछन्।

वेट लिज गर्दा रेल विक्रेता वा भाडामा दिने कम्पनीले खरिदकर्तालाई रेल सहित सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति पनि उपलब्ध गराउनुपर्ने हुन्छ। यसरी खरिद गरिएको रेलको सञ्चालनका बेला गर्नुपर्ने मर्मत सम्भार देखि अन्य प्रबन्धका काम पनि उसकै रहन्छ। “सबैलाई हामीसँग रेल सञ्चालन गर्न चाहिने सबै कर्मचारी छैनन् भन्ने थाहा थियो। तिनको व्यवस्थापन पहिलो कुरा हो भन्ने ज्ञान नभएको होइन। तर के हिसाबले त्यसलाई कमजोर आँकियो?” उपाध्यायले भने। वेट लिजमा लिएर रेल सञ्चालन गर्ने र सँगसँगै दुई वर्ष नेपालका जनशक्तिलाई तालिम गराउने गरी भारतीय पक्षसँग कुरा अघि बढाउने तयारी भन्दा विपरीत नयाँ प्रक्रिया सुरु गरिँदा लामो समय त्रिपाल ओढाएर रेल राख्नुपर्ने स्थिति उत्पन्न भएको उनी बताउँछन्।

शर्मा पनि सहमत छन्।

“रेल नेपालीले नै चलाउने भन्नेमा गयौँ। विभिन्न समस्या उत्पन्न भएपछि हामीले छुट्टै चालक दल लिनुपर्ने रहेछ भन्नेमा गयौँ,” शर्माले भने।

सरकारका अनुसार रेल सञ्चालनका लागि भाडा लगायत अन्य तयारी लगभग पूरा भइसकेको छ।

३५ किलोमिटर लामो रुटमा न्यूनतम १५ रुपैयाँदेखि ३०० रुपैयाँसम्म भाडा लाग्ने तय भएको बताइएको छ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *