बिहीवार दिउँसो 1 बजीतिर सिलगढ़ी-जलपाइगढ़ीबीच 31 नम्बर राष्ट्रिय राजमार्गको सरियम मोड़ क्षेत्रमा सड़क दुर्घटना हुँदा आमा अनि छोरा गम्भीर रूपले घाइते भए। घाइते छात्रको नाम ईशान बन्धोपाध्याय हो अनि तिनकी आमाको नाम ज्योति बन्धोपाध्याय हो। घटनापछि स्थानीय वासिन्दाहरू आक्रोशित बने र केही समयसम्म 31 नम्बर राष्ट्रिय राजमार्ग अवरोध गरे। फलस्वरूप राष्ट्रिय राजमार्गमा ठूलो जाम लागेको थियो।
स्थानीय सूत्रअनुसार, बिहीवार दिउँसो ज्योति बन्द्योपाध्याय फकीर ढिप क्षेत्रको एउटा निजी विद्यालयबाट आफ्नो छोरालाई साइकलमा लिएर घर फर्किंदै थिइन्। सरियम मोड़ क्षेत्रमा तिनीहरूलाई पुलिस वाहनले ठक्कर दियो। ठक्करपछि आमा र छोरा दुवै सड़क छेउमा उछिट्टिए। स्थानीय वासिन्दाहरूले तुरुन्तै दौड़ेर दुवैलाई उद्धार गरे र उपचारका लागि फूलबारीको एउटा निजी अस्पतालमा लगे।
ठक्करको कारण साइकल पूर्ण रूपले क्षतिग्रस्त भएको छ। घटनापछि आक्रोशित स्थानीय मानिसहरूले ठूल्ठूला काठका मुड़ाहरू सड़कमा राखेर राष्ट्रिय राजमार्गमा अवरोध गरे। घटनास्थलमा राजगञ्ज पुलिस थानाका इन्स्पेक्टर-इन-चार्ज अनुपम मजुमदार र ट्राफिक पुलिस ओसी बाप्पा साहा पुगे। तर स्थानीय मानिसहरूसित तिनीहरूको भनावैरी भयो। धेरै समयपछि दुवै पक्षबीच कुराकानी भएपछि परिस्थिति सामान्य बन्दा अवरोध हटाइयो। अन्तिम जानकारी प्राप्त हुँदा आमा र छोरा अहिले जोखिमदेखि बाहिर छन्।