एकातिर खाना पकाउने एलपीजीको मूल्य बढ़ेको छ। त्यसमाथि सिलिण्डर बूक गरेपछि कहिले आउने हो भन्ने पनि कुनै निश्चित छैन। इरानको सङ्घर्षपूर्ण परिस्थितिले व्यावसायिक एलपीजी सिलिण्डरमा अभाव देखिएको छ। तेल कम्पनीहरूले सिलिण्डर आपूर्तिमा अनिश्चित समयका लागि लगाम लगाएका छन्। यस्तो परिस्थितिमा विभिन्न जिल्लामा समस्या देखिएको छ। होटल–रेस्टुरेण्टदेखि घरको भान्सासम्म सबै ठाउँमा उस्तै अवस्था छ। बारम्बार ग्यास डिष्ट्रिब्युटर कार्यालयमा आए पनि समस्याको कुनै समाधान नभएको ग्राहकहरूको गुनासो छ। अचानक बुकिङको सङ्ख्या निकै बढ़ेपछि अवस्था अझ जटिल बनेको छ। पहिले जहाँ एउटा सेण्टरमा दिनमा लगभग 400 वटा बूकिङ हुन्थ्यो अहिले त्यो सङ्ख्या बढ़ेर हजारभन्दा अधिक पुगेको सूत्रले जनाएको छ।
यद्यपि फोन गरेर कम्पनीको एप, व्हाट्सएप र वेबसाइटमार्फत ग्यास बुकिङ गर्ने व्यवस्था रहेको छ। तर अत्यधिक चापका कारण धेरै अवस्थामा ती सेवाहरू सहीसित कार्य नगरेको गुनासो गरिएको छ। मालदामा पनि उस्तै अवस्था देखिएको छ। घरमै बसेर सिलिण्डर बूक गर्न नसक्दा चिन्ता बढ़ेको छ। त्रासको कारण ग्राहकहरू डिष्ट्रिब्युटरको पसलमा आएर लाइन लागिरहेका छन्। कम्तीमा एउटा ग्यास भए पनि स्टक गरेर राख्न सकियोस् भन्ने चाहना छ। अहिले जति ग्यास उपलब्ध छ त्यसले बढ़ीमा आगामी दुई दिन चल्न सक्छ। त्यसपछि अवस्था हेरेर धेरै होटल र रेस्टुरेण्टहरू बन्द गर्नुपर्ने अवस्था आउन सक्छ। यसको प्रभाव पर्यटन उद्योगमा पनि पर्न सक्ने भन्दै जिल्लाका होटल व्यवसायी सङ्गठनहरूले चिन्ता व्यक्त गरेका छन्।
धेरै होटल र रेस्टुरेण्टमा ग्यासको साटो कोइला प्रयोग गरेर खाना पकाउन आरम्भ गरिएको छ। ठूला होटलहरूले अहिले पनि उपलब्ध रहेको सिलिण्डरबाट खाना पकाइरहेका भए पनि मेनुमा कटौती गरिरहेका छन्। विशेष गरी ग्यासमा पकाइने परिकारहरू घटाइँदैछ। त्यसको साटो तन्दुरका परिकारहरू बढ़ाइँदैछ। अर्कातिर इण्डक्सन चुल्होको माग बढ़िरहेको छ। ग्यास नपाए कम्तीमा इण्डक्सनमा केही खाना त पकाउन सकिनेछ। तर घरका वृद्ध-वृद्धाहरू भने यी सबै कुरा सुनेर चिन्तित छन्। एक समय चुल्होमा खाना पकाउने तिनीहरू अहिले ग्यासमा अभ्यस्त भइसकेका छन्। अब फेरि इण्डक्सनमा खाना पकाउन सिक्नुपर्दा समस्या हुनेछ, ओल्ड मालदाकी 70 वर्षीया मिनुरानी देवीले भनिन्। यो चिन्ता तिनको मात्र होइन तर धेरैको हो। घरमा एकलै बस्ने र जसोतसो दाल–भात उमालेर खाने वृद्ध-वृद्धाहरूलाई अहिले चिन्ता छ अब फेरि धमिलो आँखाले तापक्रम मिलाएर दाल–भात पकाउनुपर्ने हो कि?
खाना पकाउने ग्यासको मूल्यवृद्धि र अभावको अवस्थाबारे राज्यकी मन्त्री शशी पाँजाले केन्द्र सरकारको कठोर आलोचना गरेकी छन्। बुधवार पत्रकार सम्मेलनमा शशी पाँजाले भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीले ग्यासको मूल्य बढ़ाएर अन्तर्राष्ट्रिय महिला दिवसमा ठूलो उपहार दिएका छन्। भारतबाहिर संसारमा युद्ध भइरहेको छ। तर तपाईँले त घरभित्रै युद्ध लगाइदिनु भएको छ। तपाईँले भान्साघरमै युद्ध आरम्भ गरिदिनु भएको छ। सन् 2014 पछि ग्यासको मूल्य नियन्त्रणबाहिर बढ़ेको छ। किन कुनै दूरदर्शिता छैन? किन भावी अवस्थाबारे अगावै अनुमान गरेर आवश्यक कदम चालिँदैन?
ग्यासको मूल्यवृद्धि र अभावबारे मन्त्री पाँजाद्वारा आलोचना
