मेयर गौतमद्वारा भित्ते लेखन आरम्भ

विधानसभा चुनाउको घोषणा हुन अब केही समय बाँकी छ। यसैबीच प्रत्येक राजनैतिक दलहरू प्रचार मैदानमा उत्रिसकेका छन्। तर यसपल्ट उत्तर बङ्गालको सबैभन्दा महत्त्वपूर्ण आसन सिलगढ़ी विधानसभा सम्बन्धमा अड़कलबाजी आरम्भ भइसकेको छ। राज्यको सत्तारूढ़ दल तृणमूल कङ्ग्रेसले यस आसनमा उम्मेदवार को बनाउला भन्ने विषयमा व्यापक चर्चा पनि भइरहेको छ। यसैबीच आफ्नै वार्ड अर्थात सिलगढ़ी नगर निगमको 17 नम्बर वार्डमा भित्ते लेखनमार्फत प्रचार आरम्भ गरेर मेयर गौतम देवले चुनाउ प्रचार अघि बढ़ाएका छन्। तिनले सिलगढ़ीनजिक फूलबारीमा आयोजित एक सरकारी कार्यक्रमको खुल्ला मञ्चबाट गत विधानसभा चुनाउमा डाबग्राम–फूलबारी आसनमा भारतीय जनता पार्टीबाट पराजित भएपछि अब आफू आफ्नै जन्मभूमि सिलगढ़ीमा फर्किने बताएका थिए। त्यसपछि नै अड़कलबाजी आरम्भ भएको हो। के यसपल्ट विधानसभा चुनाउमा सिलगढ़ी आसनबाट मेयर गौतम देवले प्रतिस्पर्धा गर्दैछन्? सबैको मनमा यस्तो प्रश्न उठिरहेको छ। यस्तो स्थितिमा बुधवार गौतम देवले आफ्नो जन्मस्थान सिलगढ़ीको 17 नम्बर वार्डमा पार्टीको चुनाउ चिह्नमा भित्ते लेखन आरम्भ गरेका छन्।
उल्लेखनीय छ, गत विधानसभा चुनाउमा डाबग्राम–फूलबारी आसनमा शिखा च्याटर्जीबाट गौतम देव लगभग 35 हजारभन्दा अधिक मतले पराजित भएका थिए। त्यसको केही दिनमै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले तिनलाई सिलगढ़ी नगर निगमको प्रशासक बोर्डको अध्यक्ष बनाएकी थिइन्। त्यसपछि नगर चुनाउमा तिनी 33 नम्बर वार्डबाट विजयी भए। वामपन्थीहरूको नियन्त्रणमा रहेको सिलगढ़ी नगर निगम पुनः हासिल गर्नका लागि पछि तिनलाई मेयर घोषणा गरिएको थियो। मेयर बनेपछि गौतम देवले सिलगढ़ीमा नागरिक सेवा सम्बन्धी कार्यहरू आरम्भ गरेका छन्। अब तिनको यही मेयर पदलाई उपयोग गर्न राज्यको सत्तारूढ़ दल इच्छुक देखिएको छ। मेयर भएकै कारण यसपल्ट तिनलाई सिलगढ़ी आसनबाट उम्मेदवार बनाउन सक्ने सम्भावना छ। यसकारण तिनले पहिले नै प्रचार आरम्भ गरेका छन्।
आज सञ्चारकर्मीहरूसित कुराकानी गर्दै देवले भने, म परिणामबारे सोच्दिनँ। मैले जीवनमा नौवटा चुनाउ लड़ेको छु जसमा एउटा मात्र हारेको छु। तर यसपल्ट पार्टीले मलाई उम्मेदवार बनाए म जनताको आशीर्वाद लिएर विधानसभा जान चाहन्छु। हाम्रो दल वर्षभरि जनताको साथमा रहन्छ। सिलगढ़ी नगर निगममा गरिएको कार्यबारे जनताले 2027 मा बुझ्न सक्नेछन्।

By Paromita