जलपाइगढ़ीको मैनागुड़ीबाट चुनाउ प्रचार सभा आरम्भ गरिन् मुख्यमन्त्री ममता ब्यानर्जीले। बुधवार यस सभाबाट दिल्लीको भाजपा सरकार र चुनाउ आयोगमाथि प्रहार गरिन् मुख्यमन्त्रीले। मध्य रातमा सप्लिमेण्टरी सूची प्रकाशित गरिएको विषयलाई मध्य रातको ताण्डव भनेर व्यङ्ग्य गरिन् ममता ब्यानर्जीले। जसरी मतदान तालिका घोषणा गरिएको रात राज्यका मुख्य सचिव नन्दिनी चक्रवर्ती र गृहसचिव जगदीशप्रसाद मीनालाई हटाइएको विषयमा तिनले पहिले पनि प्रहार गरेकी थिइन्। साथै असमको प्रसङ्ग उठाउँदै तिनले आफ्ना प्रत्येक उम्मेद्वारलाई सचेत गराइन्।
ममता ब्यानर्जीले भनिन्, मध्य रातमा स्वतन्त्रता आएको थियो, त्यसमा हामी गर्व गर्छौँ। आज ती सबै बिर्सिएर लोकतन्त्रलाई मानिँदैन, मताधिकार खोसिँदैछ। मध्य रातमा ताण्डव चलाउँछ भाजपाले। भोलि भन्नेछ एनआरसी गर्नेछौँ, डिटेन्सन क्याम्प बनाउनेछौँ। म बाँचुञ्जेल यी सबै हुन दिइने छैन। मेरो पछि पनि मेरो अर्को पुस्ताले पनि त्यसलाई स्वीकार गर्ने छैन। नोटबन्दीदेखि एसआईआरसम्म किन बारम्बार मानिसहरूलाई लाइनमा उभिनु परिरहेको छ भन्ने विषयमा पनि मुख्यमन्त्रीले प्रश्न उठाइन्। तिनले सोधिन्, किन एक भारतीय नागरिकले आफू यसै देशको नागरिक भएको प्रमाणित गर्नुपर्छ?
दुईवटा ग्यास बुकिङको समय सीमाको विषयमा पनि ममता ब्यानर्जीले प्रहार गरिन्। तिनले भनिन्, मानिसले खान पाउने छैन, फेरि पुराना दिनमा फर्किनु पर्नेछ। त्यसैले 4 मईमा भाजपालाई हराउने आह्वान गर्दै तिनले भनिन्, 1, 2, 3, 4 भाजपाको हार हुनेछ। 1, 2, 3, 4 तृणमूलले फेरि जित्नेछ। पश्चिम बङ्गालसितै असममा पनि मतदान भइरहेको छ। आफ्नो भाषणको अन्त्यतिर उम्मेद्वारहरूलाई सचेत गराउँदै ममता ब्यानर्जीले भनिन्, प्रत्येक उम्मेद्वारलाई भन्छु, असममा धेरै नामाङ्कन रद्द गरिएको छ। त्यसबाट शिक्षा लिनुहोस्। सबैजना वकिल लिएर जानुहोस्। सबै कागजात राम्ररी जाँच गरेर राख्नुहोस्।
भाजपाको बङ्गाल विभाजन गर्ने योजना रहेको आज ममता ब्यानर्जीले आरोप लगाइन्। तिनले भनिन्, भाजपाका धेरै योजना छन्। बङ्गाल राज्यलाई नै हटाउन चाहन्छ। बिहारसित जोड्ने योजना छ। उत्तर बङ्गालका जिल्लाहरूलाई मैले रोकेकी छु। केही दिनअघि सामाजिक सञ्जालमा यो तथ्य बाहिर आएको थियो।
भाजपाको बङ्गाल विभाजनको योजना रहेको ममताको आरोप
