खरसाङको नेताजी म्युजियम निरीक्षण गर्दै विधानसभा अध्यक्ष बोस, डिजिटलाइज्ड गर्ने पहल गर्ने

पश्चिम बंगाल विधानसभा अध्यक्ष रथिन्द्रनाथ बोसले आज खरसाङको गिध्द पहाडस्थित नेताजी म्युजियममा भ्रमण निरीक्षण गरेका छन्। उनले आज अपरान्हको समयमा खरसाङको गिध्द पहाड आएर नेताजी सुभाषचन्द्र बोसको नाममा रहेको नेताजी इन्स्टिट्युट फर एशियन स्टडिसमा आएर निरीक्षण भ्रमण गरेका छन्। विधानसभा अध्यक्ष रथिन्द्रनाथ बोसले सर्वप्रथम म्युजियम अघाडी रहेको नेताजी सुभाषचन्द्र बोसको सालिगमा माला चढ़ाएर श्रध्दाञ्जली अर्पण गरेका छन्। त्यसपछि उनले नेताजी म्युजियममा पसेर नेताजी सुभाषचन्द्र बोससित सम्बन्धित विभिन्न फोटोहरु, विभिन्न सामाग्रीहरू र अन्य विशेष कुराहरुको निरीक्षण गरेका छन्। उनलाई नेताजी म्युजियमका‌ ईन्चार्ज गणेश प्रधानले नेताजी म्युजियम र नेताजीसित जोडिएका विभिन्न कुराहरु विषयमा जानकारी गराएका छन्। नेताजी म्युजियममा विधानसभा अध्यक्ष रथिन्द्रनाथ बोसको यस निरीक्षण भ्रमणको समयमा खरसाङ महकुमा शासक आईएएस प्रिया यादव, डेपुटी मजिस्ट्रेट लादेन लेप्चा, विभिन्न सरकारी अधिकारीहरु, विभागीय अधिकारीहरु, स्थानीय जनसाधारण साथै भारतीय जनता पार्टी खरसाङका प्रतिनिधिहरु उपस्थित रहेका थिए। नेताजी म्युजियमको निरीक्षण गरेपछि विधानसभा अध्यक्ष रथिन्द्रनाथ बोसले नेताजी म्युजियमलाई डिजिटलाइज्ड गर्न सरकार समक्ष कुरा राख्ने बताएका छन्‌। उनले नेताजी म्युजियममा मानिसहरुलाई आएर भ्रमण गर्ने साथै नेताजी विषयमा अधिक जानकारी लिने अनुरोध गरेका छन्। उनले नेताजी विषयमा विवाद नगरेर नेताजीको विषयमा सबैले जनाकारी लिनु पर्ने र नेताजीलाई सबैले सम्मान गर्नु पर्ने बताए। उनले नेताजीमाथि राजनीति गर्नु नहुने तर नेताजीमाथि धेरै काम गर्न आवश्यक रहेको बताएका छन्‌। विधानसभा अध्यक्ष रथिन्द्रनाथ बोसको भ्रमण विषयमा पत्रकारहरुसित कुराकानी गर्दै नेताजी म्युजियमका इन्चार्ज गणेश प्रधानले विस्तृत रुपमा जानकारी गराएका छन्।

By Paromita