दलबाट राजीनामा दिने निर्णय गरेपछि खगेश्वर रायको घरमा तृणमूल कङ्ग्रेसको किसान खेत मजदुर युनियनका जिल्ला अध्यक्ष दुलाल देवनाथ पुगे। प्राप्त जानकारीअनुसार तिनको घरमा तृणमूलकी जिल्ला सभानेत्री महुआ गोप पनि आउनेछन्। साथै निवर्तमान मन्त्री तथा माल विधानसभा क्षेत्रका तृणमूल उम्मेदवार बुलुचिक बराइक पनि आउनेछन्। यसअघि नै राजगञ्जस्थित तिनको घरमा तृणमूलका मैनागुड़ीका उम्मेदवार राममोहन राय र दलका जिल्ला सह-उपाध्यक्ष चन्दन भौमिक पुगिसकेका छन्। सूत्रअनुसार तृणमूल सुप्रिमो ममता ब्यानर्जीसित फोनमा पनि खगेश्वरको कुराकानी भएको छ। त्यसपछि नै स्थिति सामान्य भयो। खगेश्वरले तृणमूलमै पहिले झैँ सक्रिय रहने निर्णय लिएका छन्। तिनले भने, हिजो राति 10.30 बजी ममता ब्यानर्जीले फोन गरेकी थिइन्। त्यसपछि आज बिहीवार बिहानदेखि नै नेता–कार्यकर्ता र समर्थकहरू समूह–समूहमा खगेश्वरको घरमा आइरहेका छन्।
आज दिउँसो खगेश्वर रोयले पत्रकार सम्मेलन गरे। तिनले भने, हिजो राति ममता ब्यानर्जीसित फोनमा कुराकानी भएको थियो। अभिभावकको रूपमा राजगञ्जमा चुनाउ सञ्चालन गर्नुपर्छ भनेर दिदीले भनेकी छन्। भावनामा बगेर मैले जिल्ला अध्यक्ष पद छोड्ने बताएको थिएँ। दिदीले मलाई फोन गरेकामा म कृतज्ञ छु। म तृणमूलमै बस्छु, नेतृले जुन जिम्मावारी दिन्छन् त्यसलाई पूरा गर्नेछु। जलपाइगढ़ी आसनका तृणमूल उम्मेद्वार कृष्ण दासको पक्षमा पनि प्रचार गर्नेछु। साथै राजगञ्जमा स्वप्नाको पक्षमा पनि प्रचारमा उत्रनेछु। बैठक सकिएपछि तिनले जय बाङ्गला नारासमेत लगाए। त्यसपछि मनमुटाउ समाधान भएसितै तृणमूल कङ्ग्रेसकी उम्मेद्वार स्वप्ना बर्मनको समर्थनमा प्रचारमा उत्रिए राजगञ्जका निवर्तमान विधायक खगेश्वर राय। तिनले जुलूसु गरे। तिनले भने, राजगञ्जमा यसअघि पनि भाजपालाई जित्न दिएका थिएनौँ। यसपल्ट पनि जित्न दिने छैनौँ। हाम्रो दलका उम्मेद्वार ठूलो मतले विजयी हुनेछन्। अर्कातिर तृणमूलकी जिल्ला सभानेत्री महुआ गोपले पनि भनिन्, खगेश्वर दा जिल्ला अध्यक्षकै रूपमा रहनेछन्। तिनी हाम्रो अभिभावक हुन्।
उल्लेखनीय छ, तृणमूलको उम्मेद्वार सूची घोषणा भएपछि त्यस सूचीमा आफ्नो नाम नरहेपछि राजगञ्जका यी निवर्तमान विधायकले राजीनामा दिएका थिए। यहाँसम्म कि तिनले जिल्ला अध्यक्ष पदसमेत छोड्ने निर्णय गरेका थिए। तिनको साटो राजगञ्जमा स्वप्ना बर्मनलाई तृणमूल उम्मेद्वार बनाइएको कारण तिनले यस्तो निर्णय लिएको बताइएको थियो।
ममता ब्यानर्जीको फोनमै पग्लिए खगेश्वर
