मन्त्रिपरिषद्को निर्णयपछि सरकारले अघिल्लो साताबाट सीमित सङ्ख्यामा अन्तर्राष्ट्रिय उडानहरूको निम्ति अनुमति प्रदान गरेको थियो। तर हाल पनि सीमित नियमित र चार्टर्ड उडान दुवैले अनुमति पाएको भन्दै नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूले आगामी जुलाई १ बाट नियमित उडानहरूलाई बढी प्राथमिकतामा राखिने बताएका छन्। तर नेपालमा कोरोनाभाइरसको डेल्टा प्लस भेरिअन्ट देखा परेको भन्दै टर्कीले नेपालसहित सातवटा देशबाट अर्को सूचना नभएसम्मका लागि त्यहाँका हवाई यात्रीलाई आफ्नो देशमा प्रवेश नदिने जनाएको छ।
जुलाई १ बाट लागु हुने भनिएको उडान तालिकाअनुसार हप्तामा बुधवार र शुक्रवार भारतको दिल्लीका लागि उडान हुनेछ। त्यसैगरी आइतवार, सोमवार, बुधवार र शनिवार कतारको दोहाका लागि उडान हुनेछ।
अधिकारीहरूका अनुसार यसै हप्ता मन्त्रिपरिषद्ले गरेको निर्णयका आधारमा क्वारन्टीनको मापदण्डले ‘कोभिड नेगेटिभ रिपोर्ट’ भएका र खोप लगाएका व्यक्तिहरूका लागि नयाँ व्यवस्था गरेको छ।
मन्त्रालयका सहसचिव लामिछानेका अनुसार पूरा मात्रा खोप लगाएको वा पीसीआर नेगेटिभ प्रमाणित भएको पुष्टि हुने आधिकारिक प्रमाण जनाउने कागजपत्रसहित नेपाल आउने व्यक्तिहरूले अनिवार्य रूपमा घरमा नै १० दिन क्वारन्टीनमा बस्न मिल्ने निर्णय गरिएको छ।
उनले त्यस्ता व्यक्तिलाई सोझै घर जान दिइने बताए। आफन्त बितेर अन्तिम संस्कारमा सहभागी हुन आएका व्यक्तिहरू अस्पताल र वडा कार्यालयको सिफारिससहित नेगेटिभ एन्टीजन प्रमाणपत्र भएका व्यक्तिहरू, आधिकारिक सिफारिस सहितका सरकारी कर्मचारी र कूटनीतिक नियोगका अधिकारी लगायतलाई १० दिन घरमा बस्न मिल्नेगरी जान दिइने संशोधित मापदण्डमा जनाइएको छ। तोकिएका बाहेक अन्य सबैले सात दिनको होटल बुकिङको प्रमाणपत्र प्रस्तुत गर्नुपर्ने भनिएको छ। होटेलको क्वारन्टीन र घरको क्वारन्टीनमा बसेका व्यक्तिहरूलाई आफू नेपाल प्रवेश गरेको सात र ११ दिनमा आरटी पीसीआर जाँच गराउन प्राधिकरणले भनेको छ। साथै नियम मिच्नेलाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेशअन्तर्गत कारबाही गरिने चेतावनी पनि दिइएको छ।