दुर्घटनाहरूको रोकथाम गर्न महत्त्वपूर्ण कदम स्वरूप परिवहन विभागको एमभीआई टोलीले सिलगढ़ीको इष्टर्न बाइपासमा रेट्रो-रिफ्लेक्टिभ टेपहरू जड़ान गर्ने कार्य आरम्भ गरेको छ। 29 जनवरीको राति विभिन्न स्थानहरूमा टेपहरू जड़ान गरियो। प्राप्त रिपोर्टहरूअनुसार इष्टर्न बाइपास दुर्घटनाको केन्द्र बनेको छ अनि दुर्घटनामा धेरैले ज्यान समेत गुमाइसकेका छन्।
यस समस्यालाई समाधान गर्न अधिकारीहरूले दुर्घटनाग्रस्त क्षेत्रहरू र अन्धकारमय भागहरू पहिचान गरी त्यहाँ रेट्रो-रिफ्लेक्टिभ टेप जड़ान गर्ने निर्णय लिएका हुन्। बुधवार साँझ परिवहन विभागको एमभीआई टोलीले ती रेट्रो-रिफ्लेक्टिभ टेप राखे। उक्त कार्यमा अब्दुल रोहान, नटन विश्वास, शुभङ्कर सेन, दयाल बर्मन, अभिषेक गुप्ता अनि अजय लामा लगायत अन्य सामेल थिए।
दुर्घटना रोक्ने आफ्नो नैतिक जिम्मेवारी रहेको एमभीआई टोलीले बताएको छ। टोलीका सदस्यहरूले आफ्नै खर्चमा यो पहल गरिएको साथै कार्यालय समय, अबेर राति अनि बिदाको दिनमा पनि कार्य गरिरहेको बताए। हालसम्म धेरै सड़कका खण्डहरूमा रेट्रो-रिफ्लेक्टिभ स्टिकरहरू जड़ान गरिने कार्य भइसकेको छ। यसैबीच चालक र यात्रीहरूले इष्टर्न बाइपासमा सुरक्षाका उपायहरू बढ़ाइएपछि राहत अनुभव गरेका छन्।