डाबग्राम–फूलबारीलाई नगरपालिकामा रूपान्तरण गरिने सङ्केत

चुनाउमा जित प्राप्त भए सर्वसाधारण जनताले लामो समयदेखि गरिरहेको मागलाई ध्यानमा राख्दै आगामी दिन डाबग्राम–फूलबारी क्षेत्रलाई समेटेर नगरपालिका बनाउने तृणमूल सुप्रिमो ममता ब्यानर्जीले सङ्केत दिएकी छन्। सिलगढ़ी शहरनजिक जबराभिट्टा हाई स्कूल मैदानमा पार्टीका उम्मेद्वार रञ्जन शील शर्माको समर्थनमा आयोजित जनसभामा सम्बोधन गर्दै मुख्यमन्त्रीले यस्तो सङ्केत दिएकी हुन्।
सिलगढ़ी शहरनजिक डाबग्राम–फूलबारी विधानसभा क्षेत्र मूलतः डाबग्रामका दुई र फूलबारीका दुई पञ्चायत क्षेत्र मिलेर बनेको छ। यस क्षेत्रका धेरैजसो मानिस हाटबजारदेखि विद्यालय–कलेज वा कामको सिलसिलामा सिलगढ़ी जान्छन्। यी चार ग्राम पञ्चायत क्षेत्रमा शहरीकरणको प्रभाव धेरै अघि नै देखिन थालेको छ। पछिल्लो समय यस क्षेत्रमा थुप्रै शपिङ मल, निजी विद्यालय, मार्केट कम्प्लेक्स, नर्सिङ होम, वाहनका शोरुमहरू स्थापना भइसकेका छन्। विभिन्न व्यावसायिक संस्थाहरू पनि विस्तार भइरहेका छन्। फूलबारीमा उत्तरकन्या नामक मिनी सचिवालय पनि ममता ब्यानर्जीको सरकारले निर्माण गरेको हो। सबै प्रकारका पूर्वाधार हुँदाहुँदै पनि यहाँका वासिन्दाले नगरपालिका जस्तो सुविधा पाउन सकेका छैनन्। पिउने पानीदेखि लिएर फोहोर व्यवस्थापनसम्म व्यवस्थित छैन। साथै सड़क बत्ती र ग्रामीण सड़क सम्बन्धी समस्या पनि छन्। केही क्षेत्रमा वर्षायाममा पानी जम्ने समस्याका कारण सर्वसाधारणले कठिनाइ भोग्नुपर्छ।
यी सबै विषयमा ग्राम पञ्चायतसमक्ष माग राखिए पनि आवश्यक बजेट अभावका कारण समाधान सम्भव हुँदैन। शहर नजिकको क्षेत्रका वासिन्दाले अन्य धेरै सुविधा उपयोग गरिरहे पनि प्रशासनिक जटिलताका कारण दुःख पाइरहेका छन्। यस्तो अवस्थामा लामो समयदेखि नगरपालिकाको मान्यता दिइयोस् भन्ने यी चार ग्राम पञ्चायतका वासिन्दाको एउटै माग रहेको छ। मुख्यमन्त्रीले व्यवहारतः सोही माग स्वीकार गर्ने सङ्केत दिएकी छन्। तिनले मञ्चबाट भनिन्, घोषणापत्रमा राज्यमा थप केही नगरपालिका स्थापना गर्ने प्रस्ताव पहिले नै राखिएको छ जसमा यस क्षेत्रको नाम पनि समावेश हुन सक्छ। तिनले भनिन्, चुनाउ आचारसंहिता लागू भएकाले अहिले म खुलेर भन्न सक्दिनँ। तर यस क्षेत्रका मानिसहरूको दीर्घकालीन माग निश्चित रूपमा योजनामा रहनेछ। मुख्यमन्त्रीको यस टिप्पणीपछि क्षेत्रमा खुशीको माहोल छ।

By Paromita