भारतीय विदेश मन्त्रालयका नेपाल हेर्ने शाखाका प्रमुख नेपालमा

भारतीय विदेश मन्त्रालयको नेपाल र भुटानसहित ‘नर्थन डिभिजन’ हेर्ने जिम्मेवारी पाएका अनुराग श्रीवास्तव तीनदिने नेपाल भ्रमणमा मंगलबार काठमाडौं आइपुगेका छन् ।

भारतीय दूतावास र नेपाल सरकारका अधिकारीहरुले श्रीवास्तवले भ्रमणका दौरान कार्यवहाक परराष्ट्र सचिव प्रकाश सुवेदी, अर्थसचिव मधुकुमार मरासिनी र उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई लगायत नेपाल सरकारका अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको कान्तिपुरलाई जानकारी दिए ।

नेपालका परराष्ट्रमन्त्री नारायण खड्का र भारतका विदेशमन्त्री एस. जयशंकरबीच जारी संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भेटवार्ता भएको थियो । त्यसलगतै विदेश मन्त्रालयबाट नेपालमा एक कुटनीतिक आएका हुन् । श्रीवास्तवको भ्रमणको बारेमा नखुलाए पनि उनले दुई मुलुकबीच अर्थ, व्यापार र सम्बन्धको बारेमा छलफल गर्ने बताइएको छ ।

नेपाल र भारतबीचमा पछिल्लो समय सुमधुर सम्बन्ध छैन । सुरुवातमा भारतले नेपालको कालापानी क्षेत्रलाईसमेत समेटेर नक्सा निकालेको थियो । त्यसपछि नेपालले पनि नयाँ ‘चुच्चे नक्सा’ जारी गरेपछि दुई मुलुकबीच सम्बन्धमा खटपट भएको हो ।

पछिल्लो समय शेरबहादुर देउवाले सरकार सम्हालेपछि पनि नेपालले भारतलाई गत भदौमा तीन दिनको अन्तरालमा दुई पटक कुटनीतिक नोट पठाइसकेको छ । जसको जवाफ भारतले हालसम्म नदिएको परराष्ट्रका अधिकारी बताउँछन् ।

दार्चुलामा साउन १५ गते दुई भारतीय सुरक्षा बल (एसएसबी) को संलग्नतामा नेपाली युवा जयसिंह धामीलाई महाकाली नदीमा तुइन तर्ने क्रममा खसालेर मृत्यु भएको प्रतिवेदनसहित नेपाल सरकारले भारत सरकारलाई भदौ १८ गते कुटनीतिक नोट लेखेको थियो । उक्त नोटमा घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारवाही गर्ने र पीडितलाई उचित क्षतिपूर्ति समेत उपलब्ध गराउन भनेको थियो ।

यस्तै, नेपालले भदौ २० गते सुदूरपश्चिम क्षेत्रको नेपाली आकाशमा हेलिकोप्टर उडाएको सम्बन्धमा पनि भारतलाई कुटनीतिक नोट पठाएको थियो । देउवा सरकारमा आएपछि पहिलो पटक भारतीय सरकारी संयन्त्रबाट श्रीवास्तवको नेपाल भ्रमण भएको हो । यसअघि भारतीय जनता पार्टीका अध्यक्ष विजय चौथाइवालेले नेपालको भ्रमण गरेका थिए । जसमा उनले प्रधानमन्त्री देउवासहित सबै दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका थिए ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *