भारतविरुद्धको खेलमा भोलि नयाँ गोर्खाली हौँ भन्ने प्रमाणित गर्नुपर्छ : अल्मुताइरी

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि जित्नका लागि खेल्ने बताएका छन् । 

विगतमा भारतविरुद्ध नेपालको नतिजा सन्तोषजनक छैन । तर प्रशिक्षक अल्मुताइरीले विगत हरेर चिन्ता गर्नुभन्दा राम्रो भविष्यका खेल्ने बताएका छन् ।

“नेपाल र भारत चीर प्रतिद्वन्द्वी टोली हो । तर मेरा लागि सबै प्रतिद्वन्द्वी एउटै हुन् । चाहे त्यो भारत होस् वा विश्वको अन्य कुनै टोली । हामीले राम्रो तयारी गरेका छौं र जित्नका लागि खेल्नेछौं । नेपालले खेल्ने सबै खेल जित्नुपर्छ । आशा गरौं हाम्रो प्रदर्शनबाट नेपालीले गर्व गर्नेछन्,” भारतविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअघि अल्मुताइरीले भने, “नेपाल बलियो टोली हो । विगतको नतिजाको चिन्ता छैन । हामीलाई कुन टोलीको वरीयता कहाँ छ भन्ने पनि चिन्ता छैन । हामीले भोलि नयाँ गोर्खाली हौं भनेर प्रमाणित गर्नुपर्छ । इतिहास बनाउनका लागि हामी तयार छौं ।”

भारतको राष्ट्रिय फुटबल टोलीले नेपालमा मैत्रीपूर्ण खेल खेल्न लागेको यो पहिलोपटक हो । 

पछिल्लो पटक भारतले नेपालमा विश्वकप छनोट खेल २०१५ मा खेलेको थियो । उक्त खेल गोलरहित बराबरी खेलेको थियो । 

भारत अहिले फिफा वरीयताको १०५ औं स्थानमा छ । 

नेपाल १६८औं स्थानमा छ । प्रशिक्षक अल्मुताइरीले भदौ १७ र २० मा हुने मैत्रीपूर्ण खेलले नेपालको वरीयतामा समेत सुधार हुने विश्वास व्यक्त गरे । 

“हामी बराबरीको लागि खेल्नेछैनौं । हामीले जित्नैपर्छ । बराबरी खेलेर समर्थकलाई खुसी बनाउन सक्दैनौं । त्यसकारण हामी रक्षात्मक खेल्दैनौं,” कुवेतका अल्मुताइरीले भने,  “हामीले यो दुई खेल जित्यौं भने नेपालको वरीयतामा कम्तिमा ९, १० स्थान सुधार हुनेछ ।”  

नेपाल मादिल्भसमा हुने साफ तथा चीनमा एएफसी एसियन कपका लागि विगत दुई महिनादेखि बन्द प्रशिक्षणमा छ । 

नेपाली टोलीले काठमाडौं र पोखरामा प्रशिक्षण गरेको थियो । माल्दिभ्समा असोज १५ देखि ३० गतेसम्म हुने साफ च्याम्पियनसिपको उपाधि नेपालका लागि मुख्य लक्ष्य भएको प्रशिक्षक अल्मुताइरीले बताए । 

“हामी दुई महिनादेखि प्रशिक्षण गरिरहेका छौँ । टिम राम्रो बनेको छ । भारतीय टोलीबारे हामीले राम्रो अध्ययन गरेका छौँ,” अल्मुताइरीले थपे, “यो एक मैत्रीपूर्ण खेलमात्र हो । हाम्रो मुख्य लक्ष्य साफ च्याम्पियनसिप हो । त्यसका लागि हाम्रो स्तर थाहा पाउन यो दुई खेल फलदायी हुनेछ ।”

लामो समय दशरथ रंगशालामा नेपाल र भारतले खेल्न लागेको छ । तर, कोभिड–१९ महामारीका कारण दर्शक क्षमताको ३३ प्रतिशतमात्र दर्शकलाई रंगशालामा प्रवेश दिइने भएको छ । प्रशिक्षक अल्मुताइरीको पनि दशरथ रंगशालामा पहिलो खेल खेल हो । 

“दशरथ रंगशालामा मेरो पहिलो खेल हो । तर दुभाग्य पूर्ण क्षमतामा दर्शक हुने छैनन् । घरेलु मैदानमा पहिलो खेल नै महत्वपूर्ण छ । तर दर्शकबिना खेल्न धेरै मज्जा हुदैन,”  भोलिको खेल प्रतिस्पर्धात्मक हुने दाबी गर्दै अल्मुताइरीले भन्छन्, “हामी कमजोर टिम होइनौं । त्यसैले यो खेल दुबै टोलीका कठिन हुनेछ । उनीहरुका लागि पनि हाम्रो लागि पनि ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *