अलिपुरद्वार डिपोका चार बस सेवा बन्द गरिने

म्याद समाप्त भइसकेको हुँदा जयन्ती, जलदापाड़ा, सिलगढ़ी र कोचबिहार रूटमा चारवटा बस हटाउने नर्थ बेङ्गल स्टेट ट्रान्सपोर्ट कर्पोरेशनले निर्णय गरेको छ। आगामी 23 र 24 फरवरीमा ती चारवटा बसले 15 वर्ष पूरा गर्नेछन्। अर्थात् सरकारी नियमअनुसार ती बसहरूलाई म्याद समाप्त भएको मानिनेछ। निगमको अलिपुरद्वार डिपोमा रिजर्भ बस नभएको हुँदा जल्दापाड़ा र जयन्तीको जङ्गल रूटमा समस्या देखिन सक्छ। उच्च माध्यमिक परीक्षा चलिरहेको बेला जयन्ती रूटमा निगमको बस नचले स्थिति कस्तो हुने हो भनेर धेरै अन्योलमा छन्। समस्या स्वीकार गर्दै अलिपुरद्वार डिपोका इञ्चार्ज प्रशान्त साहाले भने, यस विषयमा उच्च अधिकारीलाई जानकारी गराइएको छ। डिपोमा कम्तीमा थप 10 वटा बस आवश्यक छ। बस उपलब्ध भएपछि नै समस्या समाधान हुनेछ।
अलिपुरद्वार डिपो सूत्रअनुसार यहाँ 45 वटा बस छन्। तीमध्ये प्रत्येक दिन दुईदेखि तीनवटा बस मरम्मतीका लागि ग्यारेजमा जान्छन्। त्यसैले अतिरिक्त बस उपलब्ध हुन सक्दैन। रिजर्भ बस नभएको हुँदा कुनै रूटमा थप बस आवश्यक परे समस्या उत्पन्न हुन्छ। सामान्यत अलिपुरद्वार डिपोबाट कोचबिहार रूटमा आठभन्दा अधिक बस सञ्चालन हुन्छ। कोचबिहार रूटमा बसको सङ्ख्या घटाएर आवश्यकताअनुसार जयन्ती रूटमा बस सञ्चालन गर्न सकिन्छ कि भनेर छलफल आरम्भ भएको छ।
तर कोचबिहार रूटमा साना बसको सङ्ख्या बढ़ी छ। तर एनबीएसटीसीका अधिकारीहरूअनुसार ती बस जयन्ती रूटमा चलाउनु जोखिमपूर्ण हुन सक्नेछ। जयन्तीमा हाल 50 सिटका बस सञ्चालनमा छन्। निगमका प्रबन्ध निर्देशक दीपङ्कर पिप्लाईले भने, छिट्टै केही बसहरूको म्याद समाप्त हुँदैछ। बसको समस्या समाधान गर्न 106 वटा बसका लागि टेण्डर गरिएको छ। तीमध्ये 67 वटा सीएनजी र 38 वटा डिजल बस छन्। तर ती बस आइपुग्न केही महीना लाग्न सक्छ। आवश्यक परे वैकल्पिक बसको व्यवस्था गरिनेछ। उल्लेखनीय छ, केही समयअघि अलिपुरद्वार डिपोमा सीएनजी बस ल्याइने भनिएको थियो। तर पूर्वाधार सम्बन्धी समस्याका कारण ती बस ल्याउन सकिएन।

By Paromita