एसआईआर सुनुवाइमा चरम समस्या

धुलोले ढाकिएको मैदान, शिरमाथि कड़ा घाम। पिउने पानी र शौचालयको अभाव। यस्तै अव्यवस्थाबीच एसआईआर सुनुवाइ प्रक्रिया सम्पन्न भयो डाबग्राम–फूलबारी विधानसभा क्षेत्रमा। तीन बत्तीनजिक टिस्टा ब्यारेज मैदानमा रहेको शिविरमा पछिल्ला केही दिनदेखि हजारौँ मानिसहरूको भीड़ लागे पनि अव्यवस्था चरम अवस्थामा थियो। विशेष गरी महिला र तिनीहरूसित आएका बालक-बालिकाले बढ़ी समस्या भोग्नु परेको थियो। यस उदासीनताप्रति आक्रोशित भएर मतदाताहरूले क्षोभ प्रकट गरे।
17 जनवरीदेखि आरम्भ भएको यस सुनुवाइमा सिलगढ़ी नगर निगमका 31 देखि 44 नम्बर वार्डसहित डाबग्राम–फूलबारीका चारवटा पञ्चायत क्षेत्रका लगभग 30 हजार मानिसहरूलाई बोलाइएको थियो। तर जनसङ्ख्याको अनुपातमा व्यवस्थापनको अभाव स्पष्ट देखिन्थ्यो। आइतवार सुनुवाइको अन्तिम दिन थियो। दिउँसो बित्दै जाँदा अव्यवस्था चरममा पुग्यो। लाइनमा उभिने विषयबारे आवेदकहरूबीच हातापाई भयो। बाबलु सरकार नामक एक मतदाताले भने, तीन घण्टाभन्दा अधिक समयदेखि लाइनमा उभिएको छु। अचानक दुईजना आएर चिनाजानासित गफ गर्ने बहानामा लाइनभित्र पस्ने प्रयास गरे। रोक्दा तिनीहरू कराउन थाले। मसित झगड़ा भयो।
शनिवार पनि 11 नम्बर काउण्टर अगाड़ि यस्तै अवस्था बनेको थियो। त्यहाँ लामो समयदेखि लाइनमा उभिरहेकी एक महिलामाथि कुटपिट गरिएको आरोपसमेत लागेको थियो। अन्ततः पुलिसको हस्तक्षेप र स्थानीय युवाहरूको पहलमा अवस्था नियन्त्रणमा आयो। स्थानीयवासीअनुसार दुई सातासम्म चलेको शिविरभरि यस्तै गड़बड़ी भइरह्यो।
काउण्टरको तुलनामा सुनुवाइका लागि बोलाइएका मानिसको सङ्ख्या धेरै भएकाले पछिल्ला केही दिन लामो लाइन देखिएको थियो। शिविरको व्यवस्थापन पनि अत्यन्तै कमजोर थियो। फूलबारीबाट आएकी टिना विश्वासले भनिन्, छ घण्टा लाइनमा उभिएर काम सक्नु पर्योे। यहाँ शौचालयको व्यवस्था किन गरिएन, थाहा छैन। मैदानमा थुप्रै परित्यक्त आवास र झाड़ीहरू छन्। त्यहाँ गएर पुरुषहरूले शौच गरे पनि महिलाहरू चरम अप्ठ्यारोमा परे। धेरैजसो मानिस बालकबालिका र साना सन्तान लिएर मैदानमा आएका थिए। यसकारण भोक र तिर्खा मेटाउन धेरैले दुःख भोग्नु परेको थियो।

By Paromita