सिलगढ़ीमा चुनाउ आयुक्तको पुत्ला दहन, विभिन्न स्थानमा सड़क अवरोध

विचाराधीन हजारौँ मतदाताहरूको नाम हटाइएपछि सम्पूर्ण उत्तर बङ्गालमा आक्रोश चरममा छ। विभिन्न जिल्लामा स्थानीय वासिन्दाहरूले सड़क अवरोध गरे। मतदाता सूचीबाट नाम हटाइएकाहरू चुनाउ आयोगको विरोधमा मुखर बनेका छन्। यस मुद्दामा सिलगढ़ी महकुमाका विभिन्न क्षेत्रमा तनाउ चुलिएको थियो। सूचीबाट नाम हटाइएका पुरुष तथा महिलाहरूले हिलकार्ट रोडमा प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरे। तिनीहरूले चुनाउ आयुक्तको पुत्ला दहन गरे। तृणमूल कङ्ग्रेस र सीपीएम पनि सड़कमा उत्रिएर विरोध जनाए। चुनाउअघि नै हटाइएका वैध मतदाताहरूको नाम पुनः सूचीमा समावेश गर्नुपर्ने तिनीहरूले माग गरे। 6 नम्बर वार्डका 6 वटा बूथबाट 761 जना विचाराधीन मतदाताहरूको नाम हटाइएको छ। दिउँसो तिनीहरू सड़कमा उत्रिए र हिलकार्ट रोडको हासमी चोकमा अवरोध गरे। यसैबीच हासमी चोकमै मञ्च बनाएर तृणमूलले एसआईआर मुद्दामा दिनभरि धर्ना प्रदर्शन गर्यो ।
नक्सलबारीमा राज्य सड़क अवरोध गर्दै मतिगढ़ा–नक्सलबारी क्षेत्रका सीपीएम उम्मेद्वार झड़ेन रायले विरोध प्रदर्शन गरे। विधाननगरको मालीगाछ क्षेत्रमा पनि सड़क अवरोध भयो। कुमारसिंहजोत, तोतारामजोत, भैँसाहाटी, हाण्डी बस्ती बूथका लगभग 1200 विचाराधीन मतदातामध्ये 530 जनाको नाम हटाइएको छ। नक्सलबारीको पार्टी कार्यालयबाट वामपन्थीहरूले विरोध र्याबली निकाल्दै बीडीओ कार्यालयसम्म पुगे र त्यसपछि कार्यालय नजिकैको राज्य सड़क अवरोध गरे।
अर्कातिर, मैनागुड़ीको माधवडाङ्गा 2 पञ्चायतका नाम हटाइएका मानिसहरूले भने, केन्द्रीय बलले गोली चलाए पनि हामी गोली खान तयार छौँ, तर सड़क छोड्दैनौँ। मैनागुड़ीबाट च्याङ्ग्राबन्धातर्फ जाने सार्क रोडमा मानिसहरूले अवरोध गरे। लगभग डेढ़ घण्टा विरोध प्रदर्शन चल्यो। संयुक्त बीडीओ इनजामुल हक आएर गाउँलेहरूसित छलफल गरेपछि अवरोध हटाइयो। स्थानीय वासिन्दा अशराफुल हकले भने, मेरो हजुरबुबा र बुबाको जन्म यहीँ भएको हो। तर पनि हाम्रो मताधिकार खोसियो। रफिकुल इस्लाम र आकर अलीले पनि यस्तै बताए।
माथाभाङ्गा महकुमामा तीन स्थानमा अवरोध गरियो। शहरको कलेज मोड़मा राज्य सड़कमा मतदाताहरू बसेर अवरोध गरे। पचागढ़ मोड़मा पनि अवरोध भयो जुन लगभग तीन घण्टा चल्यो। माथाभाङ्गा 2 ब्लकको घोक्साडाङ्गा हिमघर चौराहामा राष्ट्रिय राजमार्ग अवरोध गरियो जहाँ लगभग चार घण्टा सड़क अवरुद्ध रह्यो। घोक्साडाङ्गाका विवेक सरकार र पचागढ़का अब्दुल समाद मियाँले भने, हामीले आवश्यक कागजात बुझाएका थियौँ तर पनि जानीजानी नाम हटाइएको छ। माथाभाङ्गा 1 का संयुक्त बीडीओ अभिषेक मण्डलले पचागढ़मा अवरोधकर्ताहरूसित कुराकानी गरेर अवरोध हटाए। घोक्साडाङ्गामा माथाभाङ्गा 2 का संयुक्त बीडीओ कल्याण राय पुगे।

बिहान लगभग 10 बजी दिनाहाटा–साहेबगञ्ज राज्य सड़कको दोस्रो पुलमा मानिसहरूले अवरोध गरे। खबर पाएपछि दिनाहाटा 1 का बीडीओ विशाख भट्टाचार्य र दिनाहाटा थाना प्रमुख बुद्धादित्य राय घटनास्थलमा पुगे। अधिकारीहरूको आश्वासनपछि अवरोध हटाइयो। प्रदर्शनकारीहरूले भने, कतै बाबुको नाम छ तर छोराको नाम छैन। कतै छोराको नाम छ तर बाबुको नाम हटाइएको छ।
तुफानगञ्ज 2 ब्लकको महीषकुची 1 पञ्चायतका केही वासिन्दाहरूले मतदाता सूचीमा नाम समावेश गर्न र लोकतान्त्रिक अधिकार फिर्ता गर्न माग गर्दै बक्सीरहाट–सालडाङ्गा राज्य सड़क अवरोध गरे। यसले यातायात प्रभावित भयो। बलारामपुर सरयारपार क्षेत्रमा दिनाहाटा–बलारामपुर राज्य सड़कमा टायर बालेर सयौँ मानिसहरूले विरोध जनाए जुन लगभग डेढ़ घण्टा चल्यो। अलिपुरद्वार 1 ब्लकको पररपार क्षेत्रका डिलिटेड मतदाताहरूले अलिपुरद्वार–फलाकाटा 31 डी राष्ट्रिय राजमार्ग कालजानी पुल नजिक अवरोध गरे। तृणमूलको एससी र ओबीसी सेलका जिल्ला अध्यक्ष पीयूषकान्ति रायले भने, 101 नम्बर बूथमा विचाराधीन सूचीमा 162 जनाको नाम थियो जसमा 141 जनाको नाम हटाइएको छ। कुमारग्राम ब्लकको खोआरडाङ्गा 1 पञ्चायतको साइनबोर्ड क्षेत्रमा स्थानीयहरूले टायर बालेर लामो समयसम्म सड़क अवरोध र विरोध प्रदर्शन गरे।

By Paromita