मिलनमोडको आयोजनमा सम्पन्न आठौं मिलनमोड़ गोल्ड कप नक्आउट फूटबल टुर्नामेण्टमा दार्जीलिङ पुलिसले च्याम्पियनको पगढ़ी गुँथ्यो। यस प्रतिष्ठित टुर्नामेण्ट अन्तर्गत आइतवार खेलिएको फाइनलमा दार्जीलिङ पुलिसले दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए) लाई ३-० ले पराजित गर्यो स्थानीय मिलनमोड़ खेल मैदानमा भएको म्याचमा आज दार्जीलिङ पुलिसले युवा खेलाडीहरुले सुसज्जित डीएसए-को टोलीलाई कुनै मौका दिएन। म्याचमा दार्जीलिङ पुलिसबाट अमन थापाले सात मिनटमा पहिलो गोल गरे मध्यान्तरपछि पुलिसको टोलीले अझ दुईवटा गोल थप्यो। प्रतीक लामाले ६६औ मिनटमा हेडरबाट बढ़तलाई दोब्बर पारे अन्तमा वैकल्पिक खेलाडीको रूपमा मैदानमा ओर्लिने शुभम लामा (हर्के) ले ८२औँ मिनटमा अझ एक गोल थपेर दार्जीलिङ पुलिसलाई ३-० ले जीत दिलाए ।
टुर्नामेण्टमा च्याम्पियन हुने टोलीलाई रुद्रलाल अधिकारी एवम् कृष्ण कुमारी भण्डारी स्मृति विनर्स ट्रफीको साथमा २ लाख अनि उपविजेता हुने टोलीलाई शोभन सिंह खेरवार एवम् तुलसी प्रसाद शर्मा स्मृति रनर अप् ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो यसबाहेक व्यक्तिगत पुरस्कारहरूमा उपविजेता डीएसए का हेमराज भुजेलले प्लेयर अव् द टुर्नामेण्ट र सर्वाधिक गोलदाताको पुरस्कार जिते। यसरी नै दार्जीलिङ पुलिसका दिवस तामाङले सर्वश्रेष्ठ डिफेण्डर, धीरज विश्वकर्माले सर्वश्रेष्ठ गोलकीपर र अमन थापाले प्लेयर अव द म्याचको पुरस्कार जिते फेयर प्ले ट्रफी कालेबुडको जर्जियन एफसीको नाममा रह्यो।
यसबाहेक आयोजक मधुर मिलन सङ्घद्वारा बोइज र गर्ल्स टुर्नामिण्टको पनि आयोजन गरिएको थियो। बोइज वर्ग (अण्डर-१४) मा रोहिणी एफए-ले विजेता र मिलनमोड एफए-ले उपविजेताको ट्रफी जित्यो । यसरी नै गर्ल्स टुर्नामेण्टमा खरसाङको टोलीले विजेता र मिलनमोड़ एफए ले उपविजेताको ट्रफी जित्यो दुवै वर्गमा नगद पुरस्कार पनि प्रदान गरियो आयोजक मधुर मिलन सङ्घका सचिव हेमन्त गौतम र आयोजन समितिका सचिव बद्री प्रसाद शर्माद्वारा सञ्चालित आजको समापन समारोहमा मुख्य अतिथिको रूपमा डा. सिद्धिराज शर्मा उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा आनन्दमय वर्मन (एमएलए), पूर्व फूटबलर राजेन गोले, राष्ट्रिय स्तरका फूटबलर नादोङ भूटिया, पूर्व एडीएम गोपाल लामा, डा. जीपी मण्डल, समाजसेवी सरोज कुमार खड़का, शंकर प्रसाद शर्मा, अरुप चक्रवती, दीपक न्यौपाने र समाजसेवी राजेन सुवेदी उपस्थित थिए। कार्यक्रममा आयोजन समितिका अध्यक्ष राजेन भण्डारीको सक्रिय भूमिका रहेको थियो भने धन्यवाद ज्ञापन आयोजक मधुर मिलन संघका अध्यक्ष शंकर अधिकारीले गरे ।