चुनाउ आयोगको शङ्का सूचीमा क्रिकेटर ऋचा

विचाराधीन मतदाता विश्वविजेता महिला क्रिकेटर ऋचा घोष! चुनाउ आयोगको सौजन्यमा पहिलो चरणको अन्तिम मतदाता सूचीबाट यस्तो चकित पार्ने तथ्य बाहिर आएको छ। यस विषयबारे भाजपा र चुनाउ आयोगमाथि आक्रमण गरेका छन् सिलगढ़ीका मेयर तथा तृणमूल कङ्ग्रेसको केन्द्रीय कमिटीका नेता गौतम देवले। महिलाप्रति आफ्नो दृष्टिकोण भाजपाले स्पष्ट पारेको तिनको भनाइ छ। यस विषयमा सीपीएम पनि सक्रिय बनेको छ। यद्यपि भाजपाले नरम स्वरमा यस विषय समाधान हुने जनाएको छ। यस मुद्दाले सिलगढ़ीको विधानसभा चुनाउ मैदान गर्मिएको छ।
भारतीय महिला क्रिकेट टोलीकी प्रमुख स्टारमध्ये एक हुन् सिलगढ़ीकी ऋचा। तिनले महिला विश्वकप क्रिकेटमा पनि टोलीका लागि सहभागिता जनाएकी छन्। अहिले त्यही विश्वविजेता खेलाड़ी चुनाउ आयोगको विचाराधीन सूचीमा परेकी छन्। सिलगढ़ी शहरको सुभाषपल्लीको 196 नम्बर बूथमा ऋचाको घर छ। हाल तिनी अष्ट्रेलिया भ्रमणमा छन्। मतदाता सूचीमा ऋचाजस्तै तिनकी दिदी सोमाश्रीको नाममा पनि विचाराधीन लेखिएको छ। तर ऋचाका पिता मानवेन्द्र घोष र आमा स्वपा घोषको नाम भने सूचीमा सही रहेको छ। ऋचाका पिताले भने, दुई छोरीमध्ये ऋचा सानी हुन्। सुनुवाइको समयमा ऋचा र ठूलो छोरी दुवैको जन्म प्रमाणपत्र चुनाउ आयोगमा प्रस्तुत गरेका थियौँ। बीएलओ रमिला सुब्बा घोषले भनिन्, यस्तो किन भयो? बुझ्न सकिरहेको छुइनँ।
आइतवार बिहानै 19 नम्बर वार्डकी सीपीएम काउन्सिलर मौसुमी हाजरा तथा तृणमूल नेताहरू ऋचाको घर पुगे। मेयरले भने, यसबाट केन्द्र सरकार र आयोगको महिलाप्रति दृष्टिकोण स्पष्ट हुन्छ। यस विषयमा मुख्यमन्त्री ममता ब्यानर्जी र अभिषेक ब्यानर्जीलाई जानकारी गराइएको छ। स्थानीय सीपीएम काउन्सिलरले भने, आयोगको तुघलकी कदम प्रमाणित भएको छ। सोमवार एसडीओ कार्यालय घेराउ गरिनेछ। तर भाजपा पने यस विषयबाट टाढ़ा रहन प्रयास गरिरहेको छ। दार्जीलिङका भाजपा सांसद राजु विष्टले भने, आगामी सूचीमा वास्तविक भारतीयहरूको नाम रहनेछ। मतिगढ़ा–नक्सलबारीका विधायक आनन्दमय बर्मनले भने, समय छ। यो विषय समाधान हुनेछ भोन्ने आशा छ।

By Paromita