केही असावधानी अनि सबै समाप्त! एउटा सरकारी ब्याङ्कको एटीएम काउण्टरबाट पैसा निकाल्न जाँदा अचम्मको तरिकाले ठगीको जालमा परे एक प्रौढ़ दम्पत्ती। बुधवार दिउँसो यो घटना मालबजार शहरको मुटु मानिने क्यालटेक्स मोड़मा भएको हो। उक्त दम्पत्तीले जम्मा 17 हजार रुपियाँ गुमाएको छ। दिउँसै शहरको महत्त्वपूर्ण क्षेत्रमा यसरी ठगी भएको घटनाले क्षेत्रमा त्रास फैलिएको छ। शहरको चार नम्बर वार्डका वासिन्दा तथा मालबजार नगरपालिकाका कर्मचारी प्रशान्त भौमिक र तिनकी पत्नी लिपि भौमिक बुधवार दिउँसो उक्त एटीएम काउण्टरमा पुगेका थिए। तिनीहरूले बताएअनुसार पहिले एटीएम कार्ड हालेर 10 हजार रुपियाँ निकालेका थिए। सोही रकम निकाल्नकै लागि तिनीहरू त्यो दिन एटीएममा आएका थिए। त्यसपछि कार्ड निकाल्ने क्रममा कार्ड मेसिनमै अड्किएको तिनीहरूले देखे। धेरैपल्ट प्रयास गर्दा पनि कार्ड निकाल्न सकेनन्। त्यसै बेला मेसिनको छेउमा टाँसिएको हेल्पलाइन नम्बरतर्फ तिनीहरूको ध्यान गयो। प्रशान्तले उक्त नम्बरमा फोन गरे। उताबाट फोन उठाउने व्यक्तिले आफू लगभग एक किलोमिटर टाढ़ो बस स्ट्याण्ड क्षेत्रको अर्को एटीएम काउण्टरमा रहेको बताए। तिनले प्रशान्तलाई त्यहाँ एउटा इञ्जिनियर रहेको जानकारी दिए।
उक्त व्यक्तिले दम्पत्तीलाई छिटो त्यही इञ्जिनियरसमक्ष गएर समस्या बताउन भने। दम्पत्तीले पनि ढिलो नगरी उक्त सल्लाह मानेर उक्त एटीएम काउण्टरमा पुगे। तर त्यहाँ पुग्दा कोही पनि थिएन। त्यसपछि प्रशान्तहरू फेरि क्यालटेक्स मोड़को एटीएम काउण्टरमा फर्केर आएर हेर्दा त्यहाँ तिनीहरूको एटीएम कार्ड नै थिएन! त्यसपछि तिनीहरूसित ठगी भएको विषय बुझ्न गाह्रो भएन। त्यसपछि ब्याङ्कमा बुझ्दा तिनीहरूले थाहा पाए कि खाताबाट सम्पूर्ण रकम नै निकालिएको छ।
प्रशान्तअनुसार तिनको खातामा जम्मा 27 हजार रुपियाँ थियो। 10 हजार रुपियाँ निकालेपछि खातामा 17 हजार रुपियाँ बाँकी हुनुपर्ने थियो। त्यही रकम गायब पारिएको छ। आफूलाई एकप्रकारले असहाय ठान्दै तिनले त्यसै दिन मालबजार थानामा लिखित उजुरी दर्ता गराए। लिपिले भनिन्, हामी योजनाबद्ध षड़यन्त्रको शिकार भएका हौँ। ब्याङ्क कुनै जिम्मावारी लिन तयार छैन। हामीले पुलिससमक्ष विस्तृत विवरणसहित उजुरी दिएका छौँ। जलपाइगढ़ी जिल्ला पुलिस अधीक्षक वाई रघुवंशीले यस घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिने आश्वासन दिएका छन्। यसअघि पनि शहरमा एटीएम काउण्टरमा ठगीका घटना देखिएका छन्। तर यस घटनामा जसरी पैसा हत्याइएको छ त्यो नयाँ तरिका भएको पुलिसको धारणा छ। हाल पुलिसले उक्त एटीएम काउण्टरको सिसिटिभी क्यामेराको फूटेज जाँच गर्दै अपराधीलाई पक्राउ गर्ने प्रयास गरिरहेको छ।
एटीएमबाटै दम्पत्तीसित ठगी
