उम्मेद्वारको भान्सामा दिनभरि खाना पकाउने काम

चुनाउ मैदानमा बिहानदेखि साँझसम्म कार्यकर्ता र समर्थकहरू खटिरहेका छन्। तिनीहरूको खानपानका लागि जलपाइगढ़ीका तृणमूल उम्मेद्वार कृष्ण दासले भान्सा सञ्चालन गरिरहेका छन्। बारोपेटियास्थित आफ्नै घरमा रहेको उक्त भान्सामा बिहानदेखि नै ठूलो कराईमा खाना पकाउन आरम्भ हुन्छ। कुर्सी-टेबल राखेर भोज चलिरहेको छ। हरेक दिन लगभग एक हजार मानिसहरूको खानपानको व्यवस्था गरिएको छ। हप्ताका प्रत्येक दिन फरक मेनु तय गरिएको छ जसमा दुई दिन शाकाहारी हुन्छ। बाँकी दिन माछा, मासु र अण्डा सबै समावेश गरिन्छ। खाना पकाउने ग्यासको अभाव भए पनि के फरक पर्छ र! धेरैवटा काठका चुल्हामा खाना पकाइँदैछ। दुईजना भान्से छन् र तिनीहरूलाई सहयोग गर्न थप चारजना सहयोगी छन्। एउटा समूहले खाना सकेपछि तुरुन्तै अर्को समूह बस्छ।
उम्मेद्वार कृष्ण दासले भने, पहिलेदेखि नै मेरो घरमा यो भान्सा चलिरहेको छ। टाढ़ा टाढ़ाबाट धेरै मानिसहरू दैनिक रूपमा मलाई भेट्न आउँछन्। कुराकानी गरेर फर्किँदा धेरैको दिउँसो बितिसक्छ। कोही पनि भोकै फर्किनु नपरोस् भनेर तिनीहरूका लागि खाना पकाउने र खुवाउने व्यवस्था गरिएको हो। मानिसलाई दुई मुट्ठी दाल-भात खुवाउन पाउँदा मलाई खुशी लाग्छ। यो सत्य हो कि उम्मेद्वार बनेपछि घरमा कार्यकर्ताहरूको भीड़ धेरै बढ़ेको छ। प्रत्येक दिन हजारभन्दा अधिक मानिसहरूले यहाँ खाना खाइरहेका छन्। मैले स्पष्ट रूपमा भनेको छु, कोही पनि नखाई फर्कनु हुँदैन। जसले पार्टीका लागि ज्यान लगाउँछन् ती कार्यकर्ता वा सामान्य मानिसलाई दुई मुट्ठी खाना खुवाउन पाउँदा म गर्व गर्छु।
तृणमूल उम्मेद्वारको घरमा पार्टीका कार्यकर्ता र सर्वसाधारणका लागि भान्सा सञ्चालन गरिएको विषयमा जलपाइगढ़ी क्षेत्रका भाजपा उम्मेद्वार अनन्तदेव अधिकारी टिप्पणी गर्न चाहेनन्। तिनले भने, यसबारे मेरो कुनै चिन्ता छैन। तिनी मेरा प्रतिस्पर्धी हुन्। यदि जनता तिनको साथमा छन् भने तिनले जित्नेछन्। यदि जनता मेरो साथमा छन् भने म जित्नेछु।

By Paromita