लगातार वृष्टिले उत्तर सिक्किममा पैह्रो

लगातार वर्षाका कारण उत्तर सिक्किममा भयानक पैह्रो गएको छ। यसको परिणाम स्वरूप धेरै पर्यटकहरू अलपत्र परेका छन्। मङ्गलवार साँझतिर चुङथाङदेखि लाचेन जाने सड़कका विभिन्न स्थानमा पैह्रो गएको थियो। यसकारण बाटोमै कम्तीमा दुई सय पर्यटकहरू फँसेका थिए। तिनीहरूलाई उद्धार गरेर स्थानीय एउटा गुरुद्वारा र इण्डो-टिबेटियन बोर्डर पुलिस (आईटीबीपी) को क्याम्पमा ल्याइएको थियो। त्यहाँ तिनीहरूले रात बिताए। बुधवार बिहानदेखि पैह्रो हटाउने काम तीव्र रूपमा आरम्भ गरियो। सिक्किम प्रशासन सूत्रअनुसार सो दिन साँझसम्म केही अलपत्र पर्यटकलाई लाचुङ पठाउन सम्भव भए पनि धेरैलाई गान्तोक फर्काइयो।
यता उत्तर सिक्किममा अझै लगातार वर्षा भइरहेको छ। त्यसकारण लाचुङ र लाचेन क्षेत्रमा फेरि नयाँ पैह्रो जाने जोखिम विभिन्न स्थानमा देखा परेको छ। सिक्किमका मौसम अधिकारी गोपीनाथ राहाले अझै तीन दिन वर्षा जारी रहने बताएका छन्। सञ्चारमाध्यमलाई जानकारी दिँदै मङ्गन जिल्लाका जिल्ला अधिकारी अनन्त जैनले भने, चुङथाङ–लाचेन सड़कमा मङ्गलवार राति पैह्रोका कारण धेरै पर्यटक फँसेका थिए। तिनीहरूलाई उद्धार गरेर आईटीबीपी क्याम्प र गुरुद्वारामा ल्याइएको थियो। युद्धस्तरमा पैह्रो हटाएर सड़क मरम्मती गर्ने काम बोर्डर रोड्स अर्गनाइजेशन (बीआरओ) ले आरम्भ गरेको थियो। सड़कको अवस्था र मौसम हेरेपछि मात्र यस मार्गमा पर्यटकहरूलाई आवतजावतको अनुमति दिइनेछ। हिमालयन हस्पिटालिटी एण्ड टुरिज्म डेभलपमेण्ट नेटवर्कका सचिव सम्राट सन्यालले भने, चुङथाङनजिक ठूलो पैह्रोका कारण लगभग दुई सय पर्यटक फँसेका थिए। विभिन्न स्थानमा पैह्रो गएर पहाड़ी सड़क पूर्ण रूपले अवरुद्ध भएपछि पर्यटकका वाहन अगाड़ि वा पछाड़ि जान सकिरहेका थिएनन्। अन्ततः पैह्रो हटाएर केही पर्यटकहरूलाई लाचुङ पठाउन सम्भव भयो। तर अधिकांश पर्यटकहरू जोखिम लिन चाहेनन्। त्यसैले तिनीहरूले आफ्नो यात्रा रद्द गरेर फर्किन चाहे। सोही अनुसार तिनीहरूलाई गान्तोक फर्काउने व्यवस्था गरियो।
लामो समय बन्द रहेपछि यस महीनाको पहिलो साता पर्यटकका लागि लाचेन र गुरुडोङगमार झील जाने मार्ग खोलिएको थियो। यसले पर्यटकहरूको अनुहारमा मुस्कान ल्याएको थियो। पूर्व सिक्किमको छाङ्गु, नाथुलासितै उत्तर सिक्किममा हिमपात जारी रहँदा पर्यटकहरूको भीड़ बढ्दै गइरहेको थियो। तर पैह्रोका कारण यो नियमित अवस्था प्रभावित भयो र पर्यटकहरू समस्यामा परे। प्रशासनअनुसार, अलपत्र परेका पर्यटकहरूमध्ये धेरैजना यसै राज्यका हुन् र सबै सुरक्षित छन्।

By Paromita