चिनियाँहरू सबै कहाँ गए? एक समय सिलगढ़ीमा सयभन्दा अधिक चिनियाँ परिवार बसोवास गर्थे। दार्जीलिङ र कालेबुङ जिल्ला समेट्दा यो सङ्ख्या कम्तीमा दुई सय जति थियो। घट्दै घट्दै अहिले सिलगढ़ीमा चिनियाँहरूको सङ्ख्या बाह्रमा झरेको छ। पहाड़मा पनि अवस्था उस्तै छ। अझै रहेका मानिसहरूलाई हेर्दा लाग्छ तिनीहरू पनि अब धेरै समय नटिक्ने जस्तो छ। जीविकोपार्जनको खोजीमा सबैले अहिले सिलगढ़ी छोड्दैछन्। एक समय दार्जीलिङ शहर निर्माणका प्रमुख कारीगर रहेका, सिलगढ़ीका पुराना घरहरू निर्माण गर्ने हातहरू आज दार्जीलिङ त परै जावोस् सिलगढ़ीमै पनि जीविकाको कुनै आधार छैन। जो अझै बाँकी छन् तिनीहरूलाई यस पहाड़ी जिल्लासित आफ्नो सम्बन्ध के हो भन्ने पनि थाहा छैन। कसरी टाढ़ाको चीनबाट तिनीहरू दार्जीलिङ आइपुगे त्यो इतिहास पनि अस्पष्ट छ।
सिलगढ़ीको हिलकार्ट रोडको एक लोकप्रिय चिनियाँ रेस्टुरेण्टका मालिक प्याट्रिक फान स्पष्ट भन्छन्, हामी कसरी यस देशमा आयौँ भन्ने मलाई थाहा छैन। त्यो बुबा–हजुरबुबाको समयको कुरा हो। तर अहिले धेरैजसो चिनियाँहरूका लागि सिलगढ़ी वा दार्जीलिङमा कुनै रोजगारी छैन। बाध्य भएर धेरैले शहर छोड़ाका छन्। जब अङ्ग्रेजहरूले दार्जीलिङमा ग्रीष्मकालीन बसोवासको योजना बनाए त्यति बेला पहाड़मा लेप्चा, राई र शेर्पा समुदायका केही मानिसहरू मात्र बसोवास गर्थे। तिनीहरू अङ्ग्रेजहरूका लागि घर निर्माणमा दक्ष थिएनन्। चिनियाँहरूको काठको काम देखेर शासकहरू प्रभावित भए। चीन र दार्जीलिङको मौसम मिल्दोजुल्दो भएकाले चिनियाँ काठ कर्मीहरूलाई दार्जीलिङ ल्याइयो। केवल दार्जीलिङ मात्र होइन पूरै बङ्गालमा त्यति बेला चिनियाँ मिस्त्रीहरूको दबदबा थियो। धेरै वर्षा सहन सक्ने टायलको छाना र काठको पर्खालसहित बङ्गलो बनाउन तिनीहरू अत्यन्त दक्ष थिए। आज पनि पहाड़का विभिन्न चियाबारीहरूमा ती बङ्गलो देख्न सकिन्छ। पछि टायलको साटो टिनको छाना प्रयोग हुन थाल्यो। सन् 1949 मा चीन स्वतन्त्र भएपछि धेरै चिनियाँ काठ कर्मीहरू आफ्नै देश फर्किए। जो बाँकी रहे तिनीहरूले बजारको माग बुझेर विस्तारै जुत्ता व्यवसाय आरम्भ गरे। त्यति बेला पहाड़मा छालाका जुत्ताको ठूलो माग थियो। सिलगढ़ीमा पनि चिनियाँहरूले जुत्ताको पसल खोले। तिनीहरूले कुनै निश्चित बस्ती नबनाए पनि हिलकार्ट रोड, विधान मार्केट, सेठ श्रीलाल मार्केट र प्रधाननगरमा पसलहरू खोले। ख्रीष्टियन भए पनि पसलमा लाफिङ बुद्ध राखिएको देखिन्थ्यो जसले चिनियाँ पसल चिन्न सजिलो हुन्थ्यो। धेरैले पसल पछाड़ि परिवार पनि बसाए।
सिलगढ़ीका वरिष्ठ वासिन्दा तथा लेखक गौरीशङ्कर भट्टाचार्य युवावस्थामा चिनियाँ पसलबाट नियमित जुत्ता किन्थे र पछि हाकिमपाड़ाको चिनियाँ रेस्टुरेण्टमा खाना खान्थे। भट्टाचार्य भन्छन्, के भयो थाहा छैन। लामो समय सिलगढ़ी बसेका कारण चिनियाँहरूले राम्रो बङ्गाली बोल्थे। अचानक तिनीहरू सिलगढ़ीबाट हराउँदै गइरहेका छन्। तर दार्जीलिङ जिल्लाको इतिहासमा तिनीहरूको भूमिका निकै महत्त्वपूर्ण छ। सिलगढ़ीमा ख्रीष्टियनहरूको कमी छैन र धेरै चिनियाँहरू पनि ख्रीष्टियन थिए। आफन्तको मृत्यु भएपछि तिनीहरूले पनि अन्यसितै शहरको पानीट्याङ्की क्षेत्रमा सेवक रोडनजिक रहेको कबरस्थानमा अन्त्येष्टि गर्थे। एक समय त्यो कबरस्थान पनि अतिक्रमणमा पर्योै र त्यहाँ बस्ती बस्यो। त्यति बेला वाम शासन थियो। विरोध गर्नु त परै जावोस् अतिक्रमणकारीलाई नै पट्टा दिइयो। सिलगढ़ीले आफ्नै इतिहास बिर्सियो। पछि ख्रीष्टियनहरूको कबरस्थान चेकपोस्ट क्षेत्रको एक विद्यालय पछाड़ि सारियो। ब्राण्डतर्फ झुकाउ बढ़ेसँगै चिनियाँहरूको जुत्ता व्यवसाय पनि कमजोर हुँदै गयो। त्यसैले धेरैले सिलगढ़ी छोड्न थाले। अझै रहेका परिवारहरूले रेस्टुरेण्ट सञ्चालन गरिरहेका छन् चिनियाँ सूप, फ्राइड राइस, चिली चिकेनजस्ता परिकार बेच्दै। तर यस व्यवसायमा पनि प्रतिस्पर्धा बढ्दो छ। चिनियाँहरू क्रमशः अझ दबाउमा परिरहेका छन्।
दार्जीलिङ सिलगढ़ी छोड्दै चिनियाँहरू
