राज्यमा चुनाउ घोषणा भएपछि अनित थापाको दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) ले पहाड़का तीन विधानसभा आसनका लागि उम्मेद्वार घोषणा गरेको छ। आइतवार राति दलले उम्मेद्वारहरूको सूची सार्वजनिक गरेको हो।
अनित थापाले यसअघि नै दलले पहाड़मा एकलै विधानसभा चुनाउ लड्ने बताएका थिए। कालेबुङ विधानसभा क्षेत्रबाट रुदेन सादा लेप्चालाई उम्मेद्वार बनाइएको छ। तिनले सन् 2021 मा उक्त आसन जितेर विधायक बनेका थिए। दार्जीलिङ विधानसभा आसनका लागि विजय कुमार राईलाई उम्मेद्वार बनाइएको छ भने खरसाङ विधानसभा आसनबाट अमर लामालाई उम्मेद्वार घोषणा गरिएको छ। विजय कुमार राई विद्यालयका शिक्षकका रूपमा कार्यरत छन् र पहाड़का विभिन्न सामाजिक संस्थासित पनि आबद्ध छन्। अर्कातिर अमर लामा भागोप्रमोका सचिव हुन् र यसअघि दार्जीलिङमा पार्षदका रूपमा पनि कार्य गरिसकेका थिए।
उम्मेद्वार घोषणा भएपछि जीटीए प्रमुख कार्यकारी तथा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले क्षेत्रीय दललाई अझ सुदृढ़ बनाउन आह्वान गरेका छन्। दलले सामाजिक सञ्जालमार्फत उम्मेद्वारहरूको समर्थनमा प्रचार अभियान पनि आरम्भ गरेको छ। दलका नेताहरूले सोमवारदेखि सड़कमा उत्रिएर पहाड़का विभिन्न स्थानमा प्रचार अभियान सञ्चालन गर्ने बताएका छन्।
भागोप्रमोद्वारा उम्मेद्वार घोषणा
