बङ्गलादेशमा चुनाउका कारण सीमा बन्द

छिमेकी देश बङ्गलादेशमा बिहीवार चुनाउ आरम्भ भएको छ। त्यसकारण बुधवारदेखि बिहीवारसम्म सीमा बन्द राख्ने दुवै देशका सरकारले निर्णय गरेका छन्। कुनै पनि अप्रिय घटना टार्नका लागि यस्तो निर्णय लिइएको गृह मन्त्रालय सूत्रले जनाएको छ। 17 महीना अन्तरिम सरकारले बङ्गलादेश सञ्चालन गरेपछि अब नयाँ सरकार गठनतर्फ दुवै देशका जनता आशावादी नजरले हेरिरहेका छन्। तर अन्तरिम सरकारको कार्यकालमा पनि अल्पसङ्ख्यक हिन्दूमाथि आक्रमण तथा हत्या घटनाले दुई देशबीचको सम्बन्धमा प्रभाव पारेको छ।
पूर्व प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरिएपछि भारत–बङ्गलादेश सम्बन्धमा अवनति हुन थालेको थियो। सम्बन्धमा चिसोपन आए पनि अन्तरिम सरकारको हस्तक्षेपमा पुनः दुई देशबीच व्यापार–वाणिज्य आरम्भ भएको थियो। तर पहिले जस्तै बङ्गलादेश र भारतबीच आयात–निर्यात त्यस स्तरमा हुन सकेको छैन। स्थायी सरकार गठन भएपछि पुनः सीमा हुँदै आयात–निर्यात सामान्य अवस्थामा फर्किने सीमावर्ती व्यापारीहरूले आशा गरेका छन्। प्राप्त जानकारीअनुसार बङ्गलादेशमा चुनाउका कारण बुधवारदेखि नै सीमा तथा सीमावर्ती क्षेत्रमा कठोर सुरक्षा व्यवस्था गरिएको छ। भारत–बङ्गलादेश सीमामा अतिरिक्त बीएसएफ जवान तैनाथ गरिएको छ। सीमामा गस्ती पनि बढ़ाइएको छ। यसैबीच दुई दिन सीमा बन्द रहँदा आवागमनदेखि व्यापार–वाणिज्य पनि प्रभाव परेको छ। दैनिक रूपमा सीमा हुँदै लगभग 100 देखि 200० ट्रक भारतबाट बङ्गलादेश जाने गरे पनि आज सबै आवागमन बन्द रह्यो। सीमावर्ती क्षेत्रका सबै पसलहरू बन्द छन्। लाइनमा उभिएका ट्रकहरू पनि देखिएनन्।
यस विषयमा फूलबारी सीमाका एक निर्यातकर्ता शुभङ्कर नस्करले भने, हामी बङ्गलादेशमा स्थायी सरकार सत्तामा आवोस् भन्ने चाहन्छौँ। अन्तरिम सरकारको समयमा दुई देशबीच सम्बन्ध धेरै बिग्रिएको थियो जसको प्रभाव व्यापार–वाणिज्यमाथि परेको छ। अब कम्तीमा स्थायी सरकार आएपछि आयात–निर्यात पुनः सामान्य लयमा फर्किने आशा गरेका छौँ। अर्कातिर बङ्गलादेशमा आज मतदान भइरहेको छ। बिहान साढ़े सात बजीदेखि विभिन्न मतदान केन्द्रहरूमा मतदाताहरूको भीड़ देखिएको छ। बङ्गलादेशको आम चुनाउमा बिहीवार बिहान 300 संसदीय आसनमध्ये 299 आसनमा मतदान आरम्भ भएको छ। एक उम्मेदवारको मृत्युका कारण एउटा आसनमा मतदान रद्द गरिएको छ। 30 वर्षपछि पहिलोपल्ट यस चुनाउमा आवामी लीग प्रतिस्पर्धामा छैन। नौवटा चुनाउमा देशका जनताको समर्थन पाएको दल आवामी लीग यसपल्ट चुनाउमा नहुँदा राजनीतिक वृत्तमा महत्त्वपूर्ण मानिएको छ।

By Paromita