सिलगढ़ीको इष्टर्न बाइपास धारावाहिक सड़क दुर्घटनाको हटस्पट बनिरहेको छ साथै धेरै मानिसहरूको ज्यान पनि गइसकेको छ। त्यसकारण डाबग्राम-फूलबारी समष्टिकी विधायक शिखा च्याटर्जीको नेतृत्वमा भाजपाले 1 घण्टा सड़क अवरोध गर्दै प्रशासनबाट तुरन्त कार्वाहीको माग गरेको छ।
भाजपाको सड़क अवरोध कार्यक्रम सोमवारको सड़क दुर्घटनापछि गरिएको हो जहाँ एक 5 वर्षीय बालकको मृत्यु भएको थियो। उक्त दुर्घटना सोमवार इष्टर्न बाइपासको भारी मोड़मा भएको थियो। उक्त क्षेत्रमा लगातार सड़क दुर्घटना भइरहेको हुँदा स्थानीय नेताहरूको सड़कमा उत्रन बाध्य बनेका छन्। बुधवार विधायक शिखा च्याटर्जी अनि भाजपा कार्यकर्ताहरूले घटनास्थलमा भेला भएर धारावाहिक सड़क दुर्घटनालाई रोकथाम गर्न पहल गर्नुपर्ने माग गर्दै विरोध प्रदर्शन गरे।
यसभन्दा पहिले विधायकले इष्टर्न बाइपासमा सही ढङ्गले बिजुली बत्तीको व्यवस्था अनि ट्राफिक व्यवस्थापनको माग गरेकी थिइन्। तर त्यसमा प्रशासनले कुन प्रकारको पहल गरेन। प्रशासनमाथि हेल्चेक्राइँको आरोप लगाउँदै यस्ता भयावह सड़क दुर्घटनाका लागि प्रशासन जिम्मावार रहेको पनि तिनले बताइन्। विधायक शिखा च्याटर्जीले इष्टर्न बाइपासमा रहेका पाँचवटा मदिरा पसलहरूलाई औँल्याउँदै ती मदिरा पसलहरूअघि सही ढङ्गले बिजुली बत्ती, ब्यारिकेड अनि ट्राफिक व्यवस्थापन भए पनि बाँकी ठाउँमा त्यस्तै कुनै प्रकारको व्यवस्थापन नरहेको आरोप लगाइन्। यसभन्दा पहिले धेरैपल्ट विरोध प्रदर्शन हुँदाहुँदै पनि प्रशासन कानको तेल हालेर कुम्भकर्ण निद्रामा सुतिरहेको छ अनि अब पनि प्रशासनले समस्यालाई सम्बोधन नगरेर ठूलो आन्दोलन गर्ने विधायकले चेताउनी दिएकी छन्।