बारलाको पार्टी त्यागपछि ब्लकमा नयाँ पार्टी कार्यालय खोल्न असफल भाजपा

उम्मेद्वार घोषणा भइसके पनि बानरहाट सदरमा अहिलेसम्म पनि भाजपाले चुनाउ कार्यालय खोल्न सकेको छैन। त्यति मात्र होइन बानरहाट ब्लकमा दलको स्थायी पार्टी कार्यालय पनि छैन। राजनीतिक दलहरूका लागि बानरहाट ब्लकको महत्त्व निकै रहेको छ। बानरहाट 2 र चामुर्ची ग्राम पञ्चायत नगराकट्टा विधानसभा क्षेत्रमा पर्छन्। अर्कातिर बिन्नागुड़ी र साकोयाझोड़ा 1 पञ्चायत मदारीहाट विधानसभा क्षेत्रमा पर्दछन्। साथै बानरहाट 1 तथा सालबारी 1 र 2 ग्राम पञ्चायत धूपगुड़ी विधानसभा क्षेत्रअन्तर्गत पर्छन्। त्यसैले तीनवटा विधानसभा क्षेत्रको चुनाउ समीकरणमा बानरहाटलाई महत्त्वपूर्ण सङ्गठनात्मक केन्द्रका रूपमा राजनीतिक दलहरूले हेर्छन्।
यस्तो अवस्थामा क्षेत्रमा त्यस अर्थमा भाजपा शिविरको प्रचारसमेत आरम्भ हुन सकेको छैन। यस घटनाबारे राजनीतिक वृत्तमा व्यापक चर्चा आरम्भ भइसकेको छ। दलको नेतृत्वसित सम्पर्क राख्न अझै पनि कार्यकर्ताहरू नेताहरूका व्यक्तिगत घरमै निर्भर छन्। चुनाउको मुखैमा बानरहाटजस्तो महत्त्वपूर्ण क्षेत्रमा यस्तो अवस्था हुनु स्वाभाविक रूपमा दलभित्रै प्रश्न उठ्न थालेको छ। यद्यपि चाँड़ै नै बानरहाटमा चुनाउ कार्यालय सञ्चालनमा ल्याइने भाजपा नेतृत्वको दाबी छ। भाजपाको जलपाइगढ़ी जिल्ला सचिव पुनिता उरावँले पार्टी कार्यालय नभएको विषय स्वीकार गर्दै भनिन्, एक–दुई दिनभित्र हामी चुनाउ कार्यालय खोल्नेछौँ।
स्थानीय भाजपा कार्यकर्ताहरूअनुसार जोन बारलाको पहलमा चामुर्ची मोड़मा रहेको तिनको व्यक्तिगत मार्केट कम्प्लेक्समा 2021 मा भाजपाले एउटा स्थायी पार्टी कार्यालय सञ्चालनमा ल्याएको थियो। तर बारलाले भाजपा छोड़ेपछि उक्त कार्यालय बन्द भयो। त्यसपछि लामो समय बितिसक्दा पनि बानरहाट ब्लकमा दलले कुनै स्थायी कार्यालय निर्माण गर्न सकेन। यस अवस्थालाई भाजपाको सङ्गठनात्मक असफलता भन्दै तृणमूल कङ्ग्रेसले आलोचना गरेको छ। दलका पूर्व ब्लक अध्यक्ष सागर गुरुङको दाबीअनुसार विगतमा धेरै चुनाउ भए पनि भाजपा बानरहाटमा स्थायी पार्टी कार्यालय स्थापना गर्न असफल भएको छ। सर्वसाधारणका समस्यामा पनि तिनीहरूलाई अगाड़ि बढ़ेको देखिँदैन। यद्यपि यसको प्रत्युत्तरमा भाजपाको जलपाइगढ़ी जिल्ला कमिटी सदस्य सन्तोष प्रसादले बानरहाटबाट तीनवटै विधानसभा आसनमा भाजपाका उम्मेद्वारलाई जीत दिलाउने दाबी गरेका छन्।

By Paromita