पानी नआए पनि बिल आउँछ, एसजेडीएमाथि प्रश्न

लामो समयदेखि सिलगढ़ी महकुमाको हिमाञ्चल विहार र परिवहननगरस्थित एसजेडीएको पानी रिजर्भर बिग्रिएको कारण त्यहाँका वासिन्दाहरूले पिउने पानीको सेवा पाउन सकिरहेका छैनन्। उचित सेवा नदिई एसजेडीएले बिल पठाएको विषयमा विवाद आरम्भ भएको छ। पिउने पानीको सेवा नै नदिई बिल पठाइरहेको स्थानीय व्यवसायी तथा केही वासिन्दाहरूको दाबी छ। जुन सेवा प्राप्त नै भएको छैन त्यसका लागि किन बिल तिर्नुपर्छ? केही वासिन्दाहरूले यस्तो प्रश्न उठाइरहेका छन्। सूत्रअनुसार, परिवहननगरको पानी रिजर्भर बेला बेला बिग्रिने गर्दछ। त्यसै गरी हिमाञ्चल विहारमा एसजेडीए कार्यालयनजिक रहेको पानी रिजर्भरबाट पछिल्लोपल्ट कहिले शुद्ध पिउने पानी प्राप्त भएको थियो भनेर धेरैले ठ्याक्कै सम्झना गर्न सक्दैनन्। यस्तो अवस्थामा परिवहननगरका विभिन्न सरकारी तथा निजी कार्यालयहरूमा एसजेडीएको तर्फबाट कसरी पछिल्लो बिल पठाइँदैछ भन्ने विषय कसैले बुझ्न सकेका छैन।
बिल किन पठाइएको विषयबारे जानकारी लिएपछि मात्र एसजेडीएका अध्यक्ष दिलीप दुग्गड़ले बताउन सकिने बताए। त्यससितै दिलीप दुग्गड़ले हिमाञ्चल विहारको पिउने पानी सेवा छिट्टै सामान्य बनाउने योजना बनाइएको आश्वासन दिएका छन्। परिवहननगरमा सेवा बारम्बार अवरुद्ध भइरहेको छ कि छैन भन्ने विषयमा पनि जाँच गरेर आवश्यक कदम चालिने तिनले बताए।
हिमाञ्चल विहार र परिवहननगरका यी दुई रिजर्भरमाथि मतिगढ़ाको विस्तृत क्षेत्रका वासिन्दाहरू निर्भर छन्। केही वर्षदेखि हिमाञ्चल विहारको पिउने पानी सेवा अवरुद्ध हुँदै आएको अनि सर्वसाधारणले उक्त सेवा पाउन नसकेका आरोप छ। अर्कातिर परिवहननगरको रिजर्भरको मरम्मतीमा एसजेडीएले सधैँ लापरवाही गरेको आरोप पनि लागेको छ। पटक–पटक गुनासो गर्दा काम गरिए पनि बारम्बार पानी अभावको समस्या झेल्नु परेको स्थानीय वासिन्दाहरू बताउँछन्। रिजर्भरको सरसफाईमा समेत सम्बन्धित निकायले पर्याप्त ध्यान नदिएको आरोप छ। पिउने पानीको सेवा सही ढङ्गले उपलब्ध नगराई किन बिल पठाइँदैछ भनेर सर्वसाधारणले बुझ्न सकेका छैनन्।

By Paromita