बङ्गलादेशी बन्दीको मृत्यु

जेलमा बिरामी भएपछि उपचारको क्रममा एक जेल बन्दीको मृत्यु भएको छ। तिनी बङ्गलादेशका नागरिक थिए। त्यसैले परिवारका सदस्यहरूको निवेदनका आधारमा तिनको शव फिर्ता पठाउने विषयमा त्यहाँ तयारी आरम्भ गरिएको छ। पाँच वर्षअघि अवैध रूपमा भारत प्रवेश गरेका बङ्गलादेशको कुड़ीग्राम जिल्लाको जुम्माहाट क्षेत्रका वासिन्दा मोहम्मद खैरुल इस्लामलाई मेखलीगञ्ज थाना पुलिसले पक्राउ गरेको थियो। लगभग अढ़ाई वर्षसम्म न्यायालयमा मुद्दा चलेपछि तिनलाई दोषी ठहर गर्दै न्यायाधीशले 6 वर्षको सश्रम कारावास सजाय सुनाएका थिए। त्यसपछि लगभग अढ़ाई वर्षदेखि खैरुललाई जलपाइगढ़ी केन्द्रीय जेलमा राखिएको थियो।
जेल सूत्रअनुसार, खैरुलको मुखमा घाउ देखिएपछि यसै महीनाको 3 तारिख तिनलाई जलपाइगढ़ी मेडिकल कलेज औ अस्पतालमा भर्ना गराइएको थियो। सात दिनसम्म उपचारपछि 10 तारिख अस्पतालमै तिनको मृत्यु भयो। जलपाइगढ़ीका पुलिस अधीक्षक वाई रघुवंशीले 11 तारिख अस्पतालको शवगृहमा पोस्टमर्टम सम्पन्न भएपछि शव त्यहाँ राखिएको जानकारी दिए। शनिवार साँझ खैरुलको मृत्युको खबर तिनका परिवारले पायो। त्यसपछि छोराको शव फिर्ता ल्याउने पहल तिनीहरूले आरम्भ गरेका छन्।
सूत्रअनुसार, आइतवार तिनीहरूले ढाकास्थित उपआयुक्तको कार्यालयमा खैरुलको शव फिर्ता ल्याउन निवेदन दिएका छन्। उक्त निवेदनका आधारमा ढाकाका उपआयुक्तले आवश्यक प्रक्रिया अघि बढ़ाएका छन्। खैरुलका परिवारजनले आफ्ना नजिकका व्यक्तिहरूलाई भारतमा तिनका कुनै आफन्त वा चिनाजान नभएको बताएको छ। खैरुल किन भारत आएका थिए भन्ने कुरा पनि तिनीहरूलाई थाहा छैन। खैरुलकी आमा खालेदा बेगमले आफ्नो छोराको शव घर फर्काउन दुवै देशका सरकारसमक्ष निवेदन गर्ने एक परिचितमार्फत जानकारी गराएकी छन्।

By Paromita