सांसदले एकतर्फी निर्णय लिएका आरोप

गोरामुमोसित दूरी कायम राख्दै बिमल गुरुङको गोजमुमोसित गठबन्धन गरेर पहाड़का तीनवटा आसनमा उम्मेद्वार घोषणा गरेको छ भाजपा। त्यहाँदेखि पहाड़को राजनीतिमा चहलपहल बढ़ेको छ। दार्जीलिङ आसनबाट दुईपल्ट विजयी बनेका विधायक नीरज जिम्बालाई यसपल्ट टिकट दिइएन। यसको साटो गोजमुमोका युवा नेता नोमन राईलाई टिकट दिइएको छ। अर्कातिर भारतीय हक्की टोलीका पूर्व कप्तान तथा ओलम्पियन भरत छेत्रीलाई कालेबुङ आसनमा उम्मेद्वार बनाइएको छ। गोरामुमोसित गठबन्धन नगरी मोर्चालाई दार्जीलिङ आसनमा टिकट दिइएको विषयमा पहाड़मा आलोचना र विवादको वातावरण बनेको छ। यसैबीच खरसाङ आसनका उम्मेद्वारबारे असन्तोष अझ बढ़ेको छ। उक्त आसनमा खरसाङका ब्लक अध्यक्ष सोनम लामालाई टिकट दिइएको छ। लामालाई उम्मेद्वार बनाउने निर्णयमा दलका अधिकांश नेता, कार्यकर्ता र समर्थकहरूले असन्तोष व्यक्त गरेका छन्। तिनीहरूले 24 घण्टाभित्र उम्मेद्वार परिवर्तन नगरिए अधिकांश नेताहरूले राजीनामा दिने र भाजपाविरुद्ध स्वतन्त्र उम्मेद्वार खड़ा गर्ने चेताउनी दिएका छन्। यति मात्र होइन यसका पछाड़ि दार्जीलिङका भाजपा सांसद राजु विष्ट र हिल भाजपा अध्यक्ष सञ्जीव तामाङको एकल निर्णय रहेको तिनीहरूको दाबी छ। उम्मेदवार छनोटको विषयमा दलका ब्लक, मण्डल नेतृत्वसित कुनै छलफल नगरिएको आरोप पनि लगाइएको छ। यस्तो अवस्थाले भाजपाभित्र असहजता बढ़ेको छ। शुक्रवार असन्तुष्ट भाजपा नेताहरू सिलगढ़ीनजिक सुकनामा उम्मेद्वारको विषयमा छलफल गर्न बस्ने खबर छ।
यस विषयमा दार्जीलिङ भाजपा कोर कमिटीका सदस्य राजेन मुखियाले भने, हिल भाजपा अब रहेन। यो त प्राइभेट लिमिटेड कम्पनी जस्तो भएको छ। राजु विष्ट यसको निर्देशक हुन् र अध्यक्ष सञ्जीव तामाङ उक्त कम्पनीका म्यानेजर हुन्। हामी त कर्मचारी मात्र हौँ। ती दुईजनाले मिलेर दिल्लीमा के कस्तो चलखेल गरे, थाहा छैन। यसकारण सोनम लामालाई उम्मेद्वार बनाइयो। उम्मेद्वारको विषयमा न त जिल्ला कमिटी, न ब्लक, न मण्डल कमिटीसित कुनै बैठक भयो। तिनीहरूले मिलेर षड़यन्त्र गरेका छन्। मलाई त लाग्छ राजु विष्ट र अनित थापाबीच समझदारी छ। विष्टले म्याच फिक्सिङ गरेका छन्। आफू अनुकूल उम्मेद्वार बनाए ताकि हार होस्। सांसदले दललाई नै डुबाउनेछन्। हामी बैठक बसेर निर्णय लिनेछौँ।
कोर कमिटी सदस्य मनोज देवानले भने, सम्पूर्ण पहाड़का भाजपा नेता र कार्यकर्ता सांसद राजु विष्टको यस निर्णयप्रति असन्तुष्ट छन्। तिनीहरूले विभिन्न ठाउँमा विरोध गरिरहेका छन्। यदि उम्मेद्वारबारे पुनर्विचार नगरिए खरसाङमा हामी सबै राजीनामा दिनेछौँ। सांसदले कुनै छलफल गरेनन्, एकल रूपमा निर्णय लिए। आवश्यक परे स्वतन्त्र उम्मेद्वार पनि दिनेछौँ। खरसाङ ब्लकका 15 वटा मण्डल र कमिटीका उपाध्यक्षदेखि सचिवसम्म सबै यस निर्णयको विरोधमा छन्। उपाध्यक्ष हेमन्त गौतमले भने, उम्मेद्वारबारे भन्न केही छैन। तर जसले यी आरोप लगाएका छन् तिनीहरू सही छन्। दलले यसबारे सोच्नुपर्छ। सुकना पानीघट्टा मण्डल अध्यक्ष अजय शर्माले भने, यो निर्णय अत्यन्त खराब छ। हामी यसको विरोध गरिरहेका छौँ। मण्डल र शक्ति केन्द्रको कुनै मूल्य नै छैन जबकि सङ्गठन हामीले बनाइरहेका छौँ। सांसद र जिल्ला अध्यक्षले ठूलो षड़यन्त्र गरिरहेका छन्। हाम्रो माग पूरा नभए राजीनामा दिने मात्र होइन स्वतन्त्र उम्मेद्वार पनि दिन तयार छौँ। बैठकमा हामी त्यही निर्णय लिनेछौँ। यता फेरि भारतीय जनता पार्टीका जिल्ला युवा मोर्चाका महासचिव विक्रम छेत्रीले सांसद राजु विष्टले सबैसित सरसल्लाह गरेर उम्मेद्वारहरूबारे निर्णय लिएका हुन् भनेर समर्थन जनाएका छन्। छेत्रीले नेतृत्वको निर्णयले एकता, समन्वय ल्याएर सकारात्मक चुनाउ परिणाम ल्याउने पनि दाबी गरेका छन्।

By Paromita