आफ्नै दलका कार्यकर्ताको दोकानमा आगजनी गरिएको आरोप

आफ्नै दलका एक कार्यकर्ताको पसलमा आगजनी गराएको आरोप तृणमूल कङ्ग्रेसका एक पञ्चायत सदस्यविरुद्ध लागेको छ। त्यसको प्रतिकार स्वरूप समर्थकहरू लिएर उक्त पञ्चायत सदस्यलाई कुटपिट गरिएको आरोप पनि उठेको छ। घटनामा तीनजना घाइते भएका छन्। उनीहरू उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पतालमामा उपचाराधीन छन्। एनजेपी थाना पुलिसले आइतवार उक्त पञ्चायत सदस्यसहित पाँचजनालाई पक्राउ गरेको छ। समग्रमा तृणमूल कङ्ग्रेसभित्रको गुटीय झड़पका कारण शनिवार रातिदेखि सिलगढ़ी नजिकैको फूलबारी 1 ग्राम पञ्चायतअन्तर्गत पर्ने पोड़ाझार क्षेत्र तनाउग्रस्त बनेको छ।
सूत्रअनुसार, बालुवा–ढुङ्गा सेण्डिकेटको नियन्त्रण कसको हातमा रहने भन्ने विषयमा सम्पूर्ण विवाद आरम्भ भएको हो। उक्त क्षेत्रमा एउटा बहुतल्ले भवन निर्माण भइरहेको छ। शनिवार राति तृणमूल कङ्ग्रेसका पञ्चायत सदस्य राजु मण्डलको समूहले त्यहाँ बालुवा आपूर्ति गर्ने गाड़ी पठाएको थियो। तृणमूल कङ्ग्रेसकै अर्का पक्षका कार्यकर्ता ज्योतिष बर्मनले त्यसमा अवरोध गरेका आरोप छ। केही दिनदेखि उक्त घरमा बालुवा–ढुङ्गा आपूर्ति ज्योतिषले नै गर्दै आइरहेका थिए। राति यस विषयमा दुवै पक्षबीच विवाद भयो। त्यो बेला झगड़ा रोकिए पनि राति राजु समूहसहित आएर तिनको किराना पसलमा आगो लगाइदिएका ज्योतिषको आरोप छ। पसलका सबै सामग्री खरानी भएका छन्।
यसको प्रतिवादमा क्षेत्रका राजु समर्थकका रूपमा परिचित तृणमूल कङ्ग्रेसका बूथ अध्यक्ष रामा मण्डलले भने, राति ज्योतिष समूहसहित आएर राजुमाथि आक्रमण गरे। हामी राजुसहित केही मानिसहरूलाई मेडिकलमा लिएर गयौँ। फर्किएपछि ज्योतिषको पसलमा आगो लागेको खबर पायौँ। कुटपिट गरेर कानूनी कारवाहीबाट बाँच्न ज्योतिषले आफै आफ्नो पसलमा आगो लगाएर नाटक गरिरहेका छन्।

By Paromita