सेभोकको बाघपुलमा विकल्प सेतु निर्माणबारे भाजपा सांसदले झूटो प्रचार गरेको आरोप

सेभोकमा बाघपुलको विकल्प सेतु निर्माणबारे भारतीय जनता पार्टीले झूटो प्रचार गरिरहेको आरोप लगाइएको छ। डुवर्स फोरम फर सोसाइटीले सेभोकमा टिस्टा नदीमाथि बाघपुलको विकल्प सेतु निर्माणको माग विगत धेरै दिनदेखि गर्दै आइरहेको छ। सोसाइटीका पक्षमा चन्दन रायले सिलगढ़ीको जर्नलिस्ट क्लबमा आयोजित पत्रकार सम्मेलनमा बाघपुलको विकल्प सेतु निर्माणबारे भाजपाले झूटो प्रचार गरिरहेको आरोप लगाएका हुन् । तिनले नाउँ उल्लेख नगरी दार्जीलिङका भाजपा सांसद राजु विष्ट विरुद्ध यस्तो आरोप लगाएका हुन्। तिनले भने सामाजिक सञ्जाललगायत विभिन्न मीडियामा भाजपाका एकजना जनप्रतिनिधिले सेभोकको कोरोनेशन ब्रजको विकल्प सेतु निर्माणको निम्ति केन्द्र सरकारले एक हजार करोड़ रुपियाँ आवण्टित गरेको दावी गरिरहेका छन् जुन झूटो हो ।

भाजपाका जनप्रतिनिधिले मानिसहरूलाई भ्रमित गरिरहेका छन् । हामीले सम्बन्धित विभिन्न सरकारी विभागमा खोजी गर्दा सेभोकमा विकल्प सेतु निर्माणको निम्ति विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नै तयार नभएको पत्तो लाग्यो। डीपीआर तयार नभई कुन आधारमा एक हजार करोड़ रुपियाँ विकल्प सेतुको निम्ति आवण्टित गरियो भन्ने प्रश्न संगठनको छ । सरकारले डीपीआर तयार नभई कुनै पनि योजनाको निम्ति कोष आवण्टित गर्दैन । सेभोकमा बाघपुलको विकल्प सेतुको निम्ति पनि अहिलेसम्म कुनै कोष आवण्टित नगरिएको चन्दन रायले दावी गरे। सेभोकमा कोरोनेशन ब्रिजको हेरचाहको जिम्मेवार राज्यका पीडब्ल्यूडी डिभिजन ९ का – कार्यकारी अभियन्ता आरके सिंहले एउटा प्रश्नको जवाफमा भने सेभोकमा विकल्प सेतु निर्माणको निम्ति कुनै कोष आवण्टित भएको छैन।

डीपीआर पनि तयार भएको छैन। परिस्थिति बुझेर भाजपाको सिलगढ़ी सांगठनिक जिल्ला कमिटीका सचिव तथा मतिगढ़ा नक्सलबारीका – विधायक आनन्दमय वर्मनले भने, मैले सुनेअनुसार सन् २०२२ भित्रै विकल्प सेतुको अनुमोदनसहित कोष आवण्टित गरेर निर्माण कार्य थालिनेछ । केन्द्र सरकारले विकल्प सेतु निर्माण गर्ने निर्णय लिइसकेको छ अनि त्यही कुरा हामीले भनिरहेका छौं । यसैबीच डुवर्स फोरम फर सोसाइटीले सेभोकमा विकल्प सेतु निर्माण अनि बाघबुलको संरक्षणको मागमा डुवर्स- तराई मैत्री साइकल प्यालीको आयोजना गर्ने घोषणा गरेको छ।

आउँदो २ अक्टोबर डुवर्सको मालबजार अनि सिलगढीबाट साइकल प्यालीको आयोजना गरिनेछ जुन बाघपुलमा पुगेर समाप्त हुनेछ। चन्दन रायले भने, ५ नोभेम्बर १९३७ -मा बाघपुलको निर्माण भएको हो । ८५ वर्ष पुगेको बाघपुल भूकम्प, पैह्रो जस्ता प्राकृतिक प्रकोपले गर्दा जोखिमपूर्ण अवस्थामा छ । कुनै पनि समय बाघपुलमा ठूलो दुर्घटना हुनसक्छ ।

सम्भाव्य दुर्घटना टार्नको निम्ति हामीले विकल्प सेतु निर्माणको माग गरिरहेका छौं । सेभोकमा विकल्प सेतु निर्माण भए सिलगढ़ी र डुवर्समाझको दूरी धेरै कम्ती हुनेछ । उपचार, व्यापार-वाणिज्यको निम्ति डुवर्सका विभिन्न क्षेत्रका मानिसहरू सिलगढ़ी आउजाउ गरिरहनु पर्छ । विकल्प सेतु निर्माण हुनअघि नै बाघपुल भत्किए सिलगढ़ीसँग डुवर्सको सड़क सम्पर्क नै विच्छिन्न हुनेछ। त्यसैले अविलम्ब विकल्प सेतु निर्माण गर्नुपर्ने माग संगठनको छ ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *