मतदाता सूची संशोधन वा एसआईआर प्रक्रियामा लापरवाही गरेको आरोपमा चुनाउ आयोगले राज्यभरि सातजना एईआरओलाई निलम्बन गरेको छ। त्यस सूचीमा मैनागुड़ीका एईआरओ डालिया रायचौधुरीको नाम पनि सामेल छ। तर आयोगको कारवाहीको सामना गरे पनि तिनी आफ्नो अड़ानमा अडिग रहेकी छन्। सोमवार जिल्ला अधिकारीले डाकेपछि आफ्नो कार्यालयमा उपस्थित हुन आएकी डालिया देवीले स्पष्ट रूपमा भनिन्, मैले कुनै पनि गलत कार्य गरेको छुइनँ।
उक्त दिन सञ्चारमाध्यमसित कुराकानी गर्दै निलम्बित एईआरओले भनिन्, मैले उच्च अधिकारीको निर्देशनअनुसार नै चुनाउ सम्बन्धी काम गरेको हुँ। मेरो तर्फबाट मैले 100 प्रतिशत मेहनत गरेकी छु। मलाई किन निलम्बन गरियो त्यो आयोगले नै भन्न सक्छ।
आयोगको मार्गनिर्देशन नमानेको आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै तिनले थप भनिन्, उच्च अधिकारीले सही निर्देशन दिएका थिए र त्यसै निर्देशनअनुसार मैले सही काम गरेकी हुँ। अहिले म के गर्ने भन्ने थाहा छैन। जिल्ला अधिकारीले बोलाएपछि म आएको हुँ। आयोगको कठोर कदमपछि पनि डालिया देवीको यस टिप्पणीले प्रशासनिक क्षेत्रमा फेरि नयाँ अड़कलबाजी बढ़ाएको छ।
आफ्नो अड़ानमा अडिग आयोगद्वारा निलम्बित एईआरओ
