भारतमा महामारीका कारण अतिरिक्त मृत्युको सङ्ख्या ४० लाख नाघेको एउटा नयाँ अध्ययनले देखाएको छ।

भारतमा कोभिड-१९ महामारीका कारण अतिरिक्त मृत्युको सङ्ख्या ४० लाख नाघेको एउटा नयाँ अध्ययनले देखाएको छ। विगतका वर्षको तथ्याङ्कसँग तुलना गर्दा मृत्यु हुनेको अनुमानित सङ्ख्याभन्दा बढी मृत्युलाई अतिरिक्त मृत्युबाट मापन गरिन्छ। कोभिड-१९ कै कारण उक्त सङ्ख्यामा समाविष्ट कति जनाको मृत्यु भएको हो त्यो भन्न कठिन भए पनि अतिरिक्त मृत्युले महामारीको समग्र प्रभाव देखाउँछ। भारतमा कोभिडका कारण अहिलेसम्म चार लाख १४ हजार जनाभन्दा बढी मानिसको मृत्यु भएको सरकारी तथ्याङ्क छ। ठूलो अर्थतन्त्र भए पनि भारतले यो महामारीका बेला अतिरिक्त मृत्युको लगत राखेको छैन।

अमेरिकास्थित सेन्टर फर ग्लोबल डिभेलप्मन्टका अध्ययनकर्ताहरूले विभिन्न तीनवटा स्रोतबाट महामारीका बेला जुन २१ सम्मको तथ्याङ्क सङ्कलन गरेर भारतमा सबै कारणले भएका अतिरिक्त मृत्युको अनुमानित सङ्ख्या गणना गरेका थिए। उनीहरूले भारतको आधा जनसङ्ख्या भएका सातवटा राज्यमा पञ्जीकृत मृत्युको तथ्याङ्क केलाएका थिए। भारतमा प्रत्येक वर्ष मृत्युदरसम्बन्धी सर्वेक्षण हुन्छ। तर सन् २०१९ सम्मको परिणाम मात्र प्रकाशित छ। अध्ययनकर्ताहरूले देशभरि गरिएका दुईवटा एन्टिबडी परीक्षण अर्थात् सीरो सर्वेक्षणको तथ्याङ्कमा विशेष उमेर समूहमा सङ्क्रमणबाट हुने मृत्युदरको अन्तर्राष्ट्रिय लगत प्रयोग गरेर तुलना गरेका थिए।

उनीहरूले एक लाख ७७ हजार परिवारका आठ लाख ६८ हजार व्यक्ति सहभागी भारतको उपभोक्ता सर्वेक्षणको परिणाम पनि हेरेका थिए। त्यसमा विगत चार महिनामा ती परिवारमा कसैको मृत्यु भएको भए त्यसको अभिलेख थियो। यी सबै कुराको अध्ययन गरेर अनुसन्धानकर्ताहरूले भारतमा ३४ लाखदेखि ४७ लाख अतिरिक्त मृत्यु भएको पत्ता लगाए। यो सङ्ख्या भारत सरकारले सार्वजनिक गरेको कोभिडका कारण मृत्यु भएका मानिसको कुल सङ्ख्याभन्दा १० गुना बढी छ। यो सङ्ख्या सङ्क्रामक रोगविज्ञहरूले गरेको अनुमानभन्दा पनि बढी छ। उनीहरूले भारतमा कोभिड महामारीका बेला पाँचदेखि सातगुना बढी अतिरिक्त मृत्यु भएको अनुमान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *