विश्वका एक सयमध्ये ९४ प्रदुषित सहर चीन, भारत र पाकिस्तानमा मात्रै

प्रत्येक वर्ष, भारतको राजधानी नयाँ दिल्लीलाई बाक्लो धुइरो (धुवाँ धुलो र अन्य प्रदुषणसहितको कुहिरो) ले ढाक्छ । गत साता, धुइरो दुई करोड बासिन्दाको लागि यति खराब भयो कि भारतमा विद्यालयहरू बन्द गरियो । 

मानिसहरूको फोक्सोलाई हानि गर्ने पीएम२.५ पार्टिकल्स (कणहरू) नयाँ दिल्लीमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को स्वीकार्य तहभन्दा ३४ गुणा बढी छ । किसानहरूले पराल जलाउने भएकोले जाडो याममा वायु प्रदुषण झनै खराब हुन्छ । 

वायुको गुणस्तर वायु प्रदुषक पीएम२.५, पीएम१०, ओजोन, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड, र कार्बन मोनोअक्साइडको स्तरबाट निर्धारण गरिन्छ । पार्टिकुलेट म्याटर (पीएम) मा स–साना कणहरू हुन्छन् जसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ । पीएमहरू आकारमा भिन्न हुन्छन्, सबैभन्दा हानिकारक पीएम२.५ र पीएम१० हुन्, जसको व्यास क्रमशः २.५ माइक्रोमिटर र १० माइक्रोमिटर हुन्छ । मानव कपालको व्यास ५० देखि ७० माइक्रोमिटर हुन्छ । 

१२ भन्दा कम पीएम२.५ तहहरूलाई राम्रो, ५५ देखि १५० सम्म अस्वस्थ र २५० वा त्यो भन्दा माथि खतरनाक मानिन्छ । 

विश्वको सबैभन्दा प्रदुषित सहरहरू

एयर क्वालिटी ट्र्याकर आइक्वीएयरका अनुसार सन् २०२० मा, विश्वका सयमध्ये ४६ प्रदुषित सहरहरू भारतका थिए । त्यसपछि चीनमा ४२, पाकिस्तानमा ६, बंगलादेशमा ४, इन्डोनेसियामा र थाइल्याण्डमा १/१ प्रदुषित सहर थिए । 

टप टेन (शीर्ष दश) प्रदुषित शहरहरूमा नौ ओटा भारतका थिए ।  पश्चिमी चीनको सिनझियाङको होटानमा सन् २०२० मा सबैभन्दा खराब औसत वायु गुणस्तर ११०.२ थियो । 

भारतको घातक प्रदुषण 

ल्यान्सेटका अनुसार सन् २०१९ मा भारतमा १६ लाख ७० हजार मृत्यु वायु प्रदुषणका कारण भएको थियो ।

ठोस इन्धनलाई वैकल्पिक इन्धनहरूले प्रतिस्थापन गर्दा सन् १९९० यता घरेलु वायु प्रदुषणका कारण हुने मृत्युमा कमी आएको छ भने परिवेशमा भएका पीएमसँग सम्बन्धित मृत्यु बढेको छ । 

भारतको सबैभन्दा प्रदुषित २० सहरमध्ये १५ उत्तरी क्षेत्रमा अवस्थित छन् । पराल जलाउँदा शरद र जाडो याममा प्रदुषण बढ्छ ।

सवारीसाधनको उत्सर्जन, उद्योग र जलिरहेको फोहोरले पनि पीएम२.५ र अन्य प्रदुषकहरूको उच्च स्तरमा योगदान पुर्‍याउँछन् । 
‘स्मोग टावर’ भनेको के हो ?

केही भारतीय र चिनियाँ सहरहरूले वायु प्रदुषणसँग जुध्न ‘स्मोग टावरहरू’ स्थापना गरेका छन् । 

भारतको सर्वोच्च अदालतको आदेशपछि नयाँ दिल्लीले दुई वटा स्मोग टावर जडान गरेको छ । त्यसमध्ये एउटा व्यस्त किनमेल क्षेत्रमा छ । 

२० लाख डलरको २५ मिटर अग्लो टावरको ४० वटा पंखाले प्रति सेकेन्ड १ हजार घनमिटर (३५ हजार क्यूबिक फिट) कणले भरिएको हावा लिन्छ र फिल्टरहरू मार्फत् पार गर्दछ । 

स्मोग टावरले एक किलोमिटर (०.६ माइल) व्यासार्ध (दायरा) भित्र काम गर्छ । यसले ५० प्रतिशतसम्म पीएम२.५ कम गर्ने मानिन्छ । तर, वास्तवमै स्मोग टावरहरू कत्तिको प्रभावकारी हुन्छन् भन्ने प्रश्न बाँकी नै छन् । 

वायु प्रदुषणको स्वास्थ्य असरहरू

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार वायु प्रदुषणको कारण वर्षेनी ७० लाख मानिसको मृत्यु हुन्छ । विश्वको ९० प्रतिशत भन्दा बढी जनसंख्या डब्ल्यूएचओको सीमा भन्दा बढी वायु प्रदुषण भएको क्षेत्रमा बसोबास गर्छन् ।
वायु प्रदुषण : श्वासप्रस्वास सम्बन्धी अस्थामा, मधुमेह र मुटु रोग लगायत थुप्रै बिमारीसँग सम्बन्धित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *